पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल अघि बढाएको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख वडागत बजेट सिलिङ तय गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।
बैठकले, जेठ ३० गतेसम्ममा विषयत समितिमार्फत नितीगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको पनि प्रवक्ता गुरागाईंले बताए ।
कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण राजस्व सहित नगरको समग्र आम्दामीमा गिरावट आएकाले बजेटको आकारमा समेत केही असर परेको छ । चालु आर्थिक वर्षमा १ करोडको वडागत सिलिङ बजेट विनियोजित थियो ।