धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ३ मा रहेको कृषि तथा वन विश्वविद्यालयलाई नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन्। बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्न क्वारेन्टाइन बनाउने निर्णय नगरपालिकाले गरेपछि विवाद सुरु भएको हो। कृषि क्याम्पसमा नगरपालिकाले एकलौटी ढंगले स्थानीयसँग समन्वय नगरी जबरजस्ती क्वारेन्टाइन राख्न लागेको स्थानीयको आरोप छ। वार्ता भए पनि सहमति जुटेन कृषि क्याम्पसको निर्माणाधीन भवनमा क्वारेन्टाइन राख्ने विषयमा ५ दिनयता पटकपटक नगरपालिका र वडावासीबीच वार्ता भए पनि सहमति जुटेको छैन।
नगरपालिकाको विपत व्यवास्थापन समितिले कृषि क्याम्पस उपयुक्त रहेकाले क्वारेन्टाइन बनाउने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद स्माइलले बताए। उनले सरकारले देशबाहिर रहेका नागरिक ल्याउने निर्णय गरेपछि क्वारेन्टाइन बनाउनुपरेको बताए। पाख्रीवास नगरपालिकाका १ हजार ४ सय ४२ जना देशबाहिर रहेकोमा तीमध्ये करिब ४ सय मानिस भारतमा रहेको बताए। भारतमा रहेका नागरिक तत्काल आउने भएकाले क्वारेन्टाइन बनाउनुपरेको उनको भनाइ छ। नगरपालिकाले अन्य ठाउँमा क्वारेन्टाइन बनाउँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई असहज हुने भएकाले कृषि क्याम्पस नै उपयुक्त रहेको स्माइलको जिकिर छ। बाहिरबाट आएका मानिसहरु सिधै गाउँ पठाउन नमिल्ने भएकाले क्वारेन्टाइन तत्काल आवश्यक परेको छ।
वडावासीहरुले भने कृषि क्याम्पसमा क्वारेन्टाइन राख्दा स्थानीयवासीमा सन्त्रास उत्पन्न हुने र क्याम्पसको पठनपाठनमा अवरोध पुग्ने भन्दै पाख्रीवास कृषि क्याम्पस संरक्षण संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन्। क्याम्पस निर्माणको चरणमा रहेकाले क्वारेन्टाइन बनाउँदा निर्माण कार्यसमेत प्रभावित हुने उनीहरुको भनाइ छ। निर्माणाधीन क्याम्पसलाई क्वारेन्टाइन बनाएर क्याम्पस अन्यत्र स्थान्तरण गर्न लागेको संघर्ष समितिका संयोजक प्रणयकुमार गुरुङले बताए।