ताप्तेजुङ । नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ। सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको गए राति निधन भएको हो। बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए।
राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए। खेवाङ प्रहरी चौकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए।