सुरेश कार्की
विराटनगर । विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या उनकै २ छोराहरुले गरेको घटना सार्वजनिक भएको छ । शनिबार उनको हत्या गरी आफ्नै घर भित्र गाडेको अवस्थामा शव बुधबार उत्खनन् गरिएको हो।
उनको हत्यामा जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नागेन्द्र चौहानको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई दाजु–भाई मिलेर सत्यरामको हत्या गत शनिबार राति गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दुवै जना मिलेर फरुवाले हानेर हत्या गरेपछि घर भित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घर भित्रै गाडेको शव बुधबार साँझ उत्खनन् गरेर पोस्टमार्टमका लागि कोसी अस्पताल पु¥याएको छ । सत्यराम जेठो छोरो रोहितसँग आफ्नै घरमा बस्थे । तीन छोरा मध्ये माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छोे छोरा सोमकुमार तीन वर्षदेखि वेपत्ता छन् ।
प्रहरीका अनुसार बाबुले जेठो छोरा रोहितसँग पैसा मागेका थिए । तर ज्यालामजदुरी गर्ने रोहितले आफूसँग पैसा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएपछि बाबु छोराबीचमा विवाद सुरु भएको प्रहरीको भनाइ छ । त्यतिबेला माइलो छोरो नागेन्द्र पनि बुवा र दाजु बस्ने घरमा पुगेका थिए । विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बुवाको टाउकोमा प्रहार गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीको भनाइ छ ।
बुवाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घर भित्रै खाल्डो खनेर गाडिदिएको दुवै छोराले प्रहरीलाई बताएका छन् । शव गाड्न बनाइएको खाल्डो बाबुको हत्यामै प्रयोग गरेको फरुवाले बनाएको पाइएको प्रहरीको भनाइा छ । डीएसपी राईकाअनुसार बाबुको हत्या गरेपछि घर भित्रै गाडेर शव गायव पार्न र बाबुको हत्याको घटना लुकाउन खाजेको पाइएको छ । प्रहरीका अनुसार सत्यरामका माइलो छोरा नागेन्द्रकी श्रीमतीले घटनाका बारेमा थाहा पाएपछि बुवा घरमा नभएको भन्दै नागेन्द्र आफै बुधबार प्रहरी कार्यालयमा पुगेका थिए ।
त्यसपछि पुगेको प्रहरी टोलीले घर भित्रै गाडेको अवस्थामा शव उत्खनन् गरेको हो । बाबुको हत्या गरिएको घटनामा संलग्न रोहित र नागेन्द्र दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताए । उनले दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए ।