काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताएका छन् । उनले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको संसद्मा भनेका छन् ।
‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उनले भने, ’हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’
कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो । उनले मन्त्रिपरिषद्बाट नक्सा जारी गरिएको पनि संसद्लाई जानकारी गराएका छन् । सरकारले देखावा गर्नका लागि कुनै पनि कदम नचालिएको बताए । उनले देखावटी राष्ट्रवादका लागि नगरिएको विश्वास दिलाएका छन् । उनले नक्सा सार्वजनिक भोलिसम्ममा गरिने पनि बताए । संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि प्रस्तुत गरिने प्रधानमन्त्रीले बताए । भारतले नेपाली भूमिमा बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा राख्ने निर्णय गरेको हो ।