झापाको स्यालमारामा २० बिघा जग्गा अतिक्रमण - Pahilo Online

झापाको स्यालमारामा २० बिघा जग्गा अतिक्रमण

writer

झापा । झापा गाउँपालिका–१ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताए।

त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए। भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नम्बर सीमास्तम्भ माओवादी द्वन्द्वका बेला हराएको थियो। सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताए। ‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय एसएसबीले स्यालमाराको २० बिघा नेपाली भूमि कब्जा गरेको छ,’ गाउँपालिकाका अध्यक्ष साहले भने, ‘आफ्नो जग्गा खनजोत गर्न जाँदा हतियार देखाएर अवरोध पु¥याइने गरेको छ।’ उनका अनुसार अतिक्रमित भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो जग्गाको धनीपूर्जा नेपालीहरुसँगै छ भने सोको मालपोत जग्गाधनीहरुले तिरिरहेका छन्। भारतीय सुरक्षाकर्मीले उक्त जग्गामा स्थानीय जग्गाधनीलाई भोगचलन गर्न निषेध गरेको छ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सीमावर्ती स्थानका सुरक्षा चौकीहरुको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अतिक्रमणबारे उल्लेख छ। सङ्घीय सांसद्, प्रदेश सांसद, पालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा समितिले यही वैशाख १९, २२ र २३ गते भारतसँग सीमा जोडिएको झापाको उत्तरी मेचीनगरको पाटापुरदेखि दक्षिणी गौरीगञ्जसम्मको १४४ दशमलव दुई किलोमिटर लामो सीमाक्षेत्रको स्थलगत अनुगमन गरेको थियो। अनुगमनको प्रतिवेदन शनिबारको बैठकले पारित गरेको छ। अनुगमन प्रतिवेदनमा झापा गाउँपालिकाको वडा नम्बर १ स्यालमारा भन्ने सीमा क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको पाइएको हुँदा सो भूमि फिर्ता गराइनुपर्ने उल्लेख गरिएको छ। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes