दमक । दमक २ का अतिविपन्न ५५ परिवारलाई खाद्यान्न राहत प्रदान गरिएको छ । दमकका युवा व्यक्तित्व डेविट शाही ठकुरीको अगुवाईमा वडाका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेका हुन् ।
संकलित खाद्यान्न राहत मंगलवार एक कार्यक्रमका बीच सामाजिक दुरी कायम गरि वितरण गरिएको ठकुरीले वताएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण खाद्यान्न अभाव झेलिआएका अतिविपन्न परिवारलाई ८ केजी चामल, एक केजी नुन,एक केजी दाल, एक केजी चिनी, एक केजी चिउरा,आधा लिटर खानेतेल,सावुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।
ठकुरीका अनुसार सो राहतका लागि जापानमा बस्दैआएका दिपेश पौडेलसहित स्थानीय व्यवसायीहरु रुद्र कार्की , सचिन शाक्य, भगवान बस्नेत,सत्यनारायण चौधरी, छत्र डाँगी ,रामचन्द्र अधिकारी, मनोज कुमार धिमाललगायतले सहयोग पुरयाँएका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सदस्य रवि केसीले दमक ८ स्थित आइतबारे,वालुवाटार लगायत क्षेत्रका अतिविपन्न परिवारलाई करिव १ लाख २० हजार मूल्य बराबरको खाद्यान्न राहत दिएका छन् । आफनो वडाका अतिविपन्न १२७ परिवारलाई युवा व्यवसायी समेत रहेका केसीले चामल,नुन लगायतका खाद्यान्न दिएका हुन् ।
गएको स्थानीय तहको निर्वाचनमा दमक ८ बाट वडाध्यक्षका प्रत्यासी समेत रहेका युवा व्यक्तित्व केसीले बन्दाबन्दीका मारमा परेका लक्षित समुदायलाई पहिचान गरि मंगलवार घरघर पुगेर पार्टीको वडा समितिमार्फत सो खाद्यान्न राहत वितरण गरेका हन् ।
वडाध्यक्ष पशुपति गौतमसहित कांग्रेसका नेता,कार्यकर्ताहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरि आफूले स्वेच्छिक राहत दिएको दाता केसीले वताएका छन् । नेविसंघका जिल्ला उपाध्यक्ष भवानी काफ्लेका अनुसार ३ जनासम्मलाई १० केजी , ३ जना माथि ६ जनासम्मकालाई २० केजी र ६ जना माथि भएका परिवारलाई २५ केजी चामल,नुन वितरण गरिएको हो ।