पथरीशनिश्चरे । कोरोना भाइरस कोभिड १९ को संक्रमणको अवस्थमा रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरेमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजना तथा रेड क्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना हुन सक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा १४५ पिन्ट रगत संकलन भएको छ। पथरी शनिश्चरे–५, भोटेघुम्ती र पथरी शनिश्चरे–९, शनिश्चरे बजारगरी २ ठाउँमा एकै पटक आयोजना गरिएको कार्यक्रममा भोटेघुम्तीमा ८८ जनाले र शनिश्चरे बजारमा ५७ जनाद्वारा रक्तदान भएको हो ।
नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पथरी बहुमुखी क्याम्पस, भोटेघुम्ती कृषि सहकारी संस्था, कुटो कोदालो कृषि सहकारी संस्था, सुनदह बचत तथा ऋण सहकारी संस्था , सुनौलो विहानी युवा क्लव र फुङ्नाम चेस क्लव सह–आयोजकको रुपमा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका सह–आयोजकसहित रक्तदाताहरु लगायत सम्पूर्णमा आयोजकको तर्फबाट लायन्स क्लब अफ पथरीका प्रेसिडेन्ट रोशन बुढाथोकीले धन्यवाद व्यक्त गरेका छन्।