कानेपोखरी । कानेपोखरी गाउँपालिका समाज हङकङले चार जना मृगौला पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ । मोरङको कानेपोखरी गाउँपालिकाबाट हङकङमा काम गर्दै आएका ३५ जनाले चार जना मृगौला पीडित विरामीहरुलाई उपचारको लागि सहयोग गरेका हुन् ।
बुधबार एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको हो । मृगौला उपचाररत कानेपोखरी–४ का मेघनाथ लिम्बू–५ का समीर बसका, ६ का रामकुमार राई र ७ का निर्मला भुजेललाई जनही ५० हजारको दरले रकम हस्तान्तरण गरेका हुन् ।
कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा भएको रकम हस्तान्तरण कार्यक्रममा कानेपोखरी गाउँपालिका समाज हङकङका सल्लाहकार पदम घले, सचिव देवनन्द तमुलगायतको सहभागी भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तराबहादुर काफ्लेले पालिकाले बर्षिक २५ लाख जति उपचार सहयोगमा खर्च हुने गरेको बताए । बार्षिक रुपमा एक हजार सात सयसम्म बिरामी उपचार खर्चको लागि सहयोग लिन आउने गरेको र गाउँपालिकामा तीन सय बढी मृगौला पीडित रहेको प्रमुख काफ्लेले बताए ।
अध्यक्ष काफ्लेले सुरुमा गाउँपालिकाले प्रत्येक मृगौला पीडितलाई २५ हजार दिने भनेर ५ लाख छुट्याएको तर सहयोग माग्दै मृगौला पीडित ३ सय भन्दा बढी पालिकामा आएपछि भने जस्तो पैसा दिन नसकेको उनले बताए । पालिका भित्र मुटुरोगी, ब्रेन ट्युमर जस्ता रोगीलाई २५ लाख छुट्याएको तर वडा हुन्दै पालिकामा त्यस्ता विरामी १५ सय देखि १७ सय जना आएपछि उनिहरुलाई १० हजारको दरले दिएको अध्यक्ष काफ्लेले बताए ।
कानेपोखरी गाउँपालिका हङकङ समाजका अध्यक्ष देवनन्द गुरुङको नेतृत्वमा कानेपोखरीबाट हङकङ बस्दै आएका ३५ जनाबाट १२ हजार ५ पाँच सय ७७ रुपैया हङकङ डलर संकलन गरेका थिए । सो डलर बराबरको नेपाली रकम २ लाख रुपैया समाजका अध्यक्ष गुरुङ आफै कानेपोखरी आएका थिए ।
यस अघि पनि समाजले स्वः वागी मुर्मु, सन्तोष सेन्चुरी, भविन्द्र लावती, दिलुमाया गुरुङ, चन्द्र राई, डम्बर ओझा, राजन राई, अनिल परियार र सरस्वती गुरुङ गरी जम्मा ९ जनालाई आर्थिक सहयोग गरिसकेको छ । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतको पनि उपस्थिति रहेको थियो ।