धनकुटा । सरकारले अनुमति दिएसँगै कर्मचारी व्यवस्थापन गर्दै धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालनमा आएको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण बन्द भएको भएको थियो ।
आर्थिक क्रियाकलापमा सुस्तता आउनसक्ने भन्दै सरकारले गत चैत २० गते उद्योगहरुलाई सशर्त उद्योग सञ्चालन गर्न निर्देशन दिएको थियो। देशभरका अधिकांश उद्योग बन्द रहेका बेला मजदुरलाई सरकारी नियमको पालना गर्दै निस्शुल्क खानेबस्ने व्यवस्था गरी उद्योग सञ्चालन ल्याइएको प्रबन्धक सरोज सेढाइले जानकारी दिए।
लकडाउनअघि दैनिक १२५ मजदुरले काम गरिरहेको उद्योगमा अहिले ५० मजदुरले काम गरिरहेका छन् । मजदुरबीच भौतिक दूरी कायम गर्दै बेलाबेलामा सेनेटाइजर प्रयोग गर्न लगाइएको छ। झापा मोरङ, सुनसरी, उदयपुर र केही भारतीय मजदुर कार्यरत उद्योगमका मजदुर लकडाउन सुरु भएपछि पैदलै घर गएपछि मजदुरको अभाव भएको छ।
लेभरको अभाव हुँदा सरसफाई देखि लिएर साना काममा पनि ठूलो समस्या भइरहेको सेढाइले बताए। उद्योगले लकडाउन अगाडि दैनिक ३५ सय बोरा सिमेन्ट उत्पादन गरेको भएपनि हाल मुस्किलले दैनिक ५०० बोरा उत्पादन गरिरहेको जनाएको छ। उद्योगका लागि आवश्यक पर्ने कोइला लकडाउन अगाडिकै केही परिमाणमा स्टक रहेकाले सञ्चालन गरिएको व्यवस्थापनले जनाएको छ। स्टक रहेको कोइलाले करिब एकहप्ता पुग्ने र त्यसपछि उद्योग पुन बन्द हुने अवस्था रहेको उद्योगका सञ्चालक दिनेश पौडेले बताए।
उद्योगलाई आवश्यक पर्ने कोइला भारतबाट ल्याइने गरिएको भएपनि भारतमा पनि लकडाउन जारी रहेकाले ल्याउने अवस्था नरहेको सञ्चालक पौडेलको भनाइ छ। यसैबीच धनकुटा उद्योग वाणिज्य संघले उद्योगको नियमित सञ्चालनका लागि आवश्यक पहल गरिने जनाएको छ। संघको टोलीले उद्योगको अनुगमन गर्दै सरकारी मापदण्ड पुरा गरेर सञ्चालन गर्न अनुरोध गर्दै यसका लागि आवश्यक समन्वय गर्ने जनाएको हो । सरकारले उद्योगहरुलाई शसर्त उद्योग सञ्चालन गर्न भनिसकेकाले धनकुटाका सबै उद्योग सञ्चालन हुने वातावरण बनाइने संघका अध्यक्ष विजयसन्तोषी राईले बताए।