लकडाउनले सभासदको फेरिएको जीवनशैली - Pahilo Online

लकडाउनले सभासदको फेरिएको जीवनशैली

लालबहादुर सुस्लिङ बंगुर, चण्डीप्रसाद राई कुखुरा पालन तिर

writer

रामकुमारी राई

पथरी । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी लकडाउनको बेला मुलुकमा विकास निर्माणहरुलाई समेत ठप्प पारेर चुनौतीपुर्ण एकान्तबास बन्दाबन्दीको जीवनमा जिउन विवश बनाएको छ । यस्तो अवस्थामा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र चण्डीप्रसाद राई भनें लकडाउनको बेला समय विताउने फरक शैली अपनाएका छन् ।

मोरङ पथरीशनिश्चरे निवासी संविधानसभा सदस्यद्वय सुस्लिङ र राई लकडाउनको सदुपयोग गर्दै उत्पादनशिल क्षेत्रमा लागेका छन् । संविधानसभा सदस्यभएपछि पनि सक्रिय राजनीतिमा लागेका कारण घरपरिवारलाई समय दिन नसकेका सभासदहरुले लकडाउनको समयमा भनें घरकै काममा सहयोग गरेर विताएका छन् । लकडाउनले गर्दा परिवारसंगै बसेर सुखदुःखमा साथ दिन पाएकोमा आफुलाई रमाइलो लागेको उनीहरु बताउँछन् ।


पथरीशनिश्चरे–४ निवासी लालबहादुर सुस्लिङको दैनिकी घरको काममा मद्दत गर्ने र बाँकी समय पुस्तक अध्ययनमै वित्छ । सुस्लिङ सबेरै उठेर बंगुरको आहारा बनाएर खुवाउने, बाख्रालाई घाँस दिने गर्छन् । कोरोना भाइरसका कारण विश्व मै आर्थिक संकट आइलागेको हुनाले त्यसले नेपाल अछुतो रहन नसक्ने भएकोले घरमा बस्दा समेत थोरै भएपनि आम्दानी होस् भनेर बंगुर पालन गरेको उनको भनाई छ ।
बंगुरलाई दाना पानी गरिसकेपछि सरसफाई गरेर बचेको समय पुस्तक अध्ययनमा वित्छ । पुस्तकमा कार्ल माक्र्स, लेनिन, स्टालिनका जीवनीका साथै कम्युनिष्ट दर्शन अध्ययनमा उनको बढी रुची रहेछ ।

लकडाउनले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई स्थानीय सरकारले थोरै भएपनि राहत वितरण गरेर राम्रै काम गरेको उनको बुझाई छ । फेरी पनि राहतलाई व्यवस्थित गर्न नसक्दा पाउनु पर्ने ज्यालादारी गर्ने अति विपन्न परिवारले नपाएको गुनासो आइरहेको हुँदा स्थानीय सरकारले त्यस्ता परिवारको पहिचान गरी राहत वितरण गर्नुपर्ने उनको सुझाव छ । उनले भने ‘समाजका वौद्धिक व्यक्तित्वहरुसंग छलफल बहस गरेर आधारभुत वर्गसम्म राहत पु¥याउन जोड गर्नुपर्छ ।’

त्यसैगरी, पालिकाले राजधानीमा रहेका आफ्ना नागरिकलाई ल्याएर राम्रो गरेपनि उनीहरुलाई १४ दिनसम्म क्वारेन्टीनमा राखेर मात्र घर पठाउन सभासद सुस्लिङले आग्रह गरे । ‘राम्रो संगसंगै यसले रोग पनि संगै बोकेर गाउँतिर त ल्याउंदैन भन्ने लागेको छ’– सुस्लिङले भने ‘त्यसैले स्थानीय सरकारले ज्वरो छ की छैन भनेर नाप्ने मात्र होइन, क्वारेन्टीनमा राखेर परीक्षण गरिएन भनें भोली समस्या निम्तिन सक्छ ।’ उनले कोरोनालाई परास्त गर्ने एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु मात्र भएकोले सबैलाई बन्दाबन्दीको पालना गर्न आग्रह गरेका छन् ।

सुस्लिङ जस्तै पथरीशनिश्चरे–१० निवासी सभासद चण्डीप्रसाद राईको दिनचर्या पनि कृषी कर्ममै बढी वित्ने गरेको छ । सभासद राईले लकडाउनको सदुपयोग गर्दै घरमै बसीबसी आम्दानी गरिरहेका छन् । उनले पहिले लेयर्स कुखुरा पालेर खाली भएको खोरमा लोकल कुखुरा पालेर आम्दानी गरेका छन् । लकडाउनको बेला घरमा श्रीमतीलाई सहयोग गर्ने, टेलिभिजन हेर्ने, इन्टरनेटमा समाचार, सुचनाहरु हेरेर दिन विताउंदै आएपनि खाली समयको सदुपयोग गर्दै कुखुरा पालेका हुन् ।


त्यतिमात्र होइन, सभासद राईले सानो कोठेबारीमा अर्गानिक तरकारी खेती पनि गरेका छन् । उनले कोठेबारीमा कांक्रा, लौका, बोडी, भिण्डी, खोर्सानी फलाएका छन् । यति थोरै जमिनमा धेरै किसिमको तरकारी फलाएर अरुलाई प्रेरणा समेत दिन सकेका छन् ।

सरकारद्वारा जारी लकडाउनलाई नागरिकले पालना गरेपनि त्यसलाई खुकुलो गर्नुपर्ने उनको सुझाव छ । राईले ‘त्यसले आर्थिक र व्यवसायिकरुपले देशले धान्न नसक्ने स्थिति आएकोले त्यसको मोडालिटीलाई परिमार्जन गरेर केही खकुलो बनाउन म सुझाव दिन्छु’ भने ।
हिजो सभासद हुंदा र अहिलेको जीवन भोगाईमा के फरक छ भन्ने जिज्ञासामा राईले भने –‘मानिसको जीवनमा विभिन्न किसिमको भूमिकाहरु अदलबदल भइनै रहन्छ, त्यो आफुले चाहेर भन्दा पनि समय र परिस्थितिले जुराएर ल्याउंछ ।’

पञ्चायत माविको प्रधानाध्यापकको भुमिका निभाइरहेका उनी सभासद भएर संविधान जारी गर्न भुमिका निभाए र अहिले नेकपा जिल्ला कमिटी सदस्य एवं शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हाली रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes