सगरमाथा राष्ट्रिय निकुञ्जमा छवटा कस्तुरी मृग मृत फेला - Pahilo Online

सगरमाथा राष्ट्रिय निकुञ्जमा छवटा कस्तुरी मृग मृत फेला

writer

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा छवटा कस्तुरी मृग मृत भेटिएका छन्। निकुञ्जको केङ्जोमा क्षेत्रमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। मृत भेटिएकामध्ये एउटा पोथी, तीनवटा भाले र दुईवटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए।

उनका अनुसार एउटा मृगको बिना निकालिएको र दुईवटा सडेकाले ती मृगको पनि बिना झिकेर लगेको अनुमान गरिएको छ। पहिचान हुन नसकेको मृगको घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको उपाध्ययले बताए।

ती मृग करिब १० दिनअघि मारिएको हुन सक्ने अनुमान गरिएको छ। मृगलाई खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जको टोलिको रोहबरमा मुचुल्का तयार पारि गाडिएको हो। लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ।

चोरी शिकारीमा संलग्नको खोजी कार्य जारी रहेको भन्दै शंका लागेका व्यक्तिहरुमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्ययले बताए। यस्ता घटना पटकपटक भइरहेको जानकार बताउँछन्। अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिने भए पनि सगरमाथा राष्ट्रिय निकुञ्जमा हालसम्म गणना गरिएको छैन। २०३२ सालम स्थापना भएको यस निकुञ्ज १ हजार १४८ वर्ग किलोमिटरमा फैलिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा यही निकुञ्जभित्र पर्ने भएकाले यसलाई अति महत्त्वका साथ हेर्ने गरिएको छ । यस निकुञ्जमा कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग लगायत १९३ प्रजातिका चरा पाइने जानकारहरु बताउँछन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes