ताप्लेजुङमा आवश्यक सामग्री नपाएपछि निर्माणाधीन पुल भत्काइँदै - Pahilo Online

ताप्लेजुङमा आवश्यक सामग्री नपाएपछि निर्माणाधीन पुल भत्काइँदै

writer

ताप्लेजुङ । जिल्लाको सिदिङवा र सिरिजंघा दुई गाउँपालिका जोड्ने काबेली खोलामा निर्माणाधीन पुल भत्काउन थालिएको छ। निर्माणकार्य अन्तिम चरणमा पुगेको भए पनि आवश्यक सामग्री नपाएपछि सामान सुरक्षाका लागि भत्काउनुपरेको निर्माण कम्पनीले जनाएको छ।

सिमेन्ट, गिट्टी र ढलानमा प्रयोग गर्ने रसायन ढुवानी गर्न नसक्दा भत्काउनुपरेको मैनाचुली निर्माण सेवाका कृष्ण बस्नेतले बताए। यसका लागि नियामक निकाय उत्तर(दक्षिण लोकमार्ग आयोजनाले सहमति दिएको जनाएको छ। ‘सबै काम सकेर चैत्र १५ गतेदेखि ढलान गर्ने योजना थियो। लकडाउन भएपछि जति प्रयास गरे पनि सामान ल्याउनै सकेनौं। त्यही दिन ढलान भएको भए अहिलेसम्म सेट भइसक्थ्यो,’ बस्नेतले भने, ‘१५ दिन पर्खंदा पनि सामान पाउने सम्भावना नभएपछि रड र फर्मा निकालिरहेका छौं। पानी परिरहेकाले ठाडो खोलामा आउने बाढीले ठूलै क्षति पुग्ने देखियो।’ उनका अनुसार ढलान गरेको भए ८० प्रतिशत काम सकिन्थ्यो। ढलान सेट हुन एक महिना लाग्ने र वर्षा अगाडि नै पुलबाट गाडी चलाउने आयोजनाको तयारी थियो।

४० मिटर लामो यो पुल नहुँदा पूर्वका मेहेले, सुरुमखिम, खेवाङ, याम्फुदिनका बासिन्दा प्रभावित भएका छन्। कञ्चनजंघा हिमालको आधार शिविर जाने पनि यो एकमात्र मार्ग हो। पुल नभएकै कारण स्थानीयले गाडी चढ्न हप्पुखोलासम्म हिँड्नुपर्छ। हप्पुखोला याम्फुदिनका लागि एक दिन र सुरुमखिम, खेवाङकालागि ८ घन्टासम्मको पैदलमार्ग हो। मोटरेबल यो पुल निर्माणको अवधि आगामी साउनसम्म छ।

सामग्री ढुवानीका लागि आफूहरुले पनि समन्वय गरेको तर सम्भव नभएको उत्तर(दक्षिण लोकमार्ग आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताए। उनका अनुसार यहाँ हाल्नुपर्ने गिटी झापा र रासायनिक सामान काठमाडौंबाट ल्याउनुपर्ने हुन्छ। पुलको लागत ४ करोड ७० लाख रुपैयाँ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes