राष्ट्रपतिद्वारा विवादित दुवै अध्यादेश खारेज - Pahilo Online

राष्ट्रपतिद्वारा विवादित दुवै अध्यादेश खारेज

writer

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज गरेकी हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश गत सोमबार जारी गरेकी थिइन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको थियो।

सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि बहुमतीय प्रावधानसहित पारित गरेको अध्यादेश पनि फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिले खारेज गरिदिएकी हुन्। ’आज मिति २०७७साल बैशाख १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गर्नु भएको छ’, राष्ट्रपतिको कार्यालयले भनेको छ।

मन्त्रिपरिषद्बाट फिर्ताको निर्णय भएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने कानुनी व्यवस्था छ। वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो। ती अध्यादेश त्यही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो। कोरोना भाइरसको अभियानमा देश नै होमिएका बेला ल्याइएको अध्यादेशको आलोचना भइरहेका बेला राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको थियो।

मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको थियो। पार्टी विभाजनलाई सजिलो बनाउने गरी ल्याएको भन्दै पूर्वमाओवादीसहित पूर्वएमालेका केही नेताहरुले अध्यादेशको विरोध गरेका थिए। त्यस्तै सरकारका मन्त्रीहरु पनि अध्यादेश समर्थन र विरुद्धमा विभाजित भएका थिए। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को काम कर्तव्य अधिकार र कार्य्विधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी कानून संसोधन गर्न अध्यादेश पारित गरेको थियो।

मन्त्रिपरिषदले पारित गरेको दुवै अध्यादेश तत्कालै राष्ट्रपतिकहाँ र्पुयाइएको थियो। सोमवार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी गरिएको थियो । पार्टीमा सल्लाह नगरी दुवै अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दीमा परेका थिए। त्यो मन्त्रिपरिषद्मा मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन र प्रदीप ज्ञवालीले कोरोनाको संकटका बेला यी अध्यादेश ल्याउनु ठीक नहुने सुझाव दिँदादिँदै पनि प्रधानमन्त्रीले दुवै अध्यादेश जारी गर्ने निर्णय लिएका थिए।

(स्रोत–थाहखवरबाट)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes