तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिका २ बस्ने रेवन्त बि.क.को १० बर्षीय छोरा सरोज बि.क. र निजकै भान्जी १० बर्षीया ऐलिना बि.क. तेलिया खोलाको दहमा मृत फेला परेका छन् ।
शनिवार दिउँसो दुबै बालक तथा बालिका छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न भनी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान साँढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।