विर्तामोड । कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण सोमबारदेखि सुरु हुने सिरुवा पर्व प्रभावित भएको छ । नयाँ वर्ष प्रारम्भ भएसँगै राजवंशी, ताजपुरिया, गनगाई, माझी, थारुलगायत जातिको पर्व सिरुवा सुरु हुन्छ ।
कोरोनाका कारण यस वर्षको सिरुवा पर्व हर्षोल्लाससाथ मनाउँन नपाउने भएका हुन् । आइतबार एक अपिल सार्वजनिक गर्दै राजवंशी विकास प्रतिष्ठान झापाले यस वर्षको सिरुवा पर्व विगतमा जस्तोगरी नमनाउन आग्रह गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेको तर्फ ध्यानाकर्षण गराउँदै जोखिम मोलेर संस्काररसंस्कृति नमनाउँन प्रतिष्ठानले सचेत समेत गराएको छ । सोमबारदेखि नयाँ बर्ष २०७७ प्रारम्भ भएको छ । राजवंशी, ताजपुरियालगायत जातिले सिरुवा पर्वमा बैशाख १ गते पानी सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा मनाउँने गर्छन् ।
सिरुवा साथीभाई तथा गाउँलेहरु भेला भई आपसमा पानी, काद(हिलो) र रंग दलेर मनाउने चलन छ । सामूहिक रुपमा सिरुवा खेल्ने, मेला बजार लगाउने तथा सिरुवा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । तर, यस बर्ष कोरोनाको जोखिम रहेकाले भीडभाड हुने कुनै क्रियाकलाप नगर्न अपिल गरेको प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले बताएका छन् ।