पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि आज पथरी शनिश्चरे इसाइ समाजले ३६ हजार ३ सय नगद प्रदान गरेको छ । समाजका नगर अध्यक्ष डेविट राई सहितले नगरको समन्वय समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईलाई सो नगद हस्तान्तरण गरेका थिए ।
जहाँ जो जो बाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिनेछ । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको एन.आई.सी एसिया बैंकको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।