पथरी । मागेको कार्यक्रम भनेकै समयमा नदिंदा पत्रकारहरुले झुठा समाचार प्रकाशन गरेर आफू र वडाको छवि धमिल्याउन खोजेको भन्दै मोरङको पथरी शनिश्चरे नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीले विज्ञप्ती प्रकाशन गरि कानूनी उपचारमा लाग्ने बताएका छन् ।
कोरोनाभाइरस र लकडाउनको कारण प्रभावित जनतालाई राहत वितरण गरेको बिषयमा व्यक्तिगत छवीमा आँच आउने गरी समाचार र फेसवुकमा गाली बेइज्जती गरेको बिज्ञप्तिमा उल्लेख छ ।
‘पथरीशनिश्चरे–३ का अर्जुन काफ्ले, पथरीशनिश्चरे–५ निवासी भीमराज अधिकारी, उर्लाबारी–मंगलबारे निवासी कुमार खड्काले मेरो चरित्र हत्या गर्ने कुत्सिद मनसायले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको जानकारी गराउँद छु’– विज्ञप्तिमा भनिएको छ । केही मिडियाहरुको समेत नाम उल्लेख गर्दै भनिएको छ ‘लामो समयदेखि निरन्तर वडा र वडाबासीहरुलाई समेत अन्याय हुने गरी भ्रामक समाचारहरु प्रकाशन गर्दै आएकोले पुष्टि नहुने ती समाचारहरुबाट भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’
विज्ञप्तिमा ती पत्रकारहरुले कार्यालयमा आई धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यक्रम माग गरेको माग पूरा गर्न नसकेपछि गलत मनसायले वडा कार्यालयले गरेका कामको विल भरपाई माग्ने, अनावश्यक सोधिखोजी गरी दुःख दिने गरेको उल्लेख छ ।
भनेकै समयमा कार्यक्रम नदिएकोमा सामाचार लेखिदिने धम्कि दिदै आएको र राहत वितरणको बिषयलाई बंग्याएर समाचार बनाउनुको साथै अर्जुन काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा समेत चरित्र हत्या हुनेगरी सामग्री पोष्ट गरेको उल्लेख छ ।
राहत वितरणको विषयलाई लिएर उनीहरुले प्रतिशोधको रुपमा अनलाइन र फेसवुक मार्फत नकारात्मक प्रचार श्रींखला जारी राखेको त्यहा उल्लेख छ ।
वडाध्यक्ष भण्डारीले विज्ञप्ति मार्फत् आफू विरुद्ध स्थानीयबासीलाई पत्रकार सम्मेलनको नाममा उकास्ने गरेको हुनाले अबाञ्छित गतिविधि रोक्न आग्रह गरेका छन् ।
उनले भनेका छन् ‘मेरो र वडा नम्बर ४ कै छवि धमिलिने गरी निरन्तर प्रचार गरिरहेपछि विज्ञप्ति प्रकाशन गरी विषय सार्वजनिक गर्न बाध्य भएको छु ।’ बारम्बार हुँदै आएको ‘कपोलल्पित’ समाचार लगायतको म्याटर विरुद्ध कानूनी उपचारमा समेत जाने विज्ञप्तिमा उल्लेख छ ।
वास्तविकता यस्तो रहेछः
वडाध्यक्ष भण्डारीको भनाई,
– हामीले सरकारले बनाएको मापदण्ड अनुसार वडाभरीका विपन्न ज्यालादारी मजदुरी गर्ने परिवार छनौट गर्न चार जना वडा सदस्यहरुलाई चारवटा क्षेत्र तोकी जिम्मा लगाएका थियौं । सबै वडा सदस्यहरुले आ–आफ्नो क्षेत्रका टोलहरुबाट सरकारी मापदण्ड भित्रका राहत दिनुपर्ने व्यक्तिको नाम छनौट गरेर ल्याउनु भयो । छनौट भएर आएका नामहरुलाई वडास्तरीय राहत व्यवस्थापन तथा वितरण समितिमा अनुमोदन गराई नगरमा सिफारिस गरी पठाइएको हो । सोही बमोजिम नगरबाट प्राप्त भएको राहत खाद्यान्न सामग्री वितरण गरिएको हो ।
–चैत २४ गते सोमबार नगरबाट राहत सामग्री ढिलो गरी (करिव ३ः३० बजे) मात्र प्राप्त भएपनि वडाका चारवटा वितरण केन्द्रबाट राहत वितरण गरियो । चारवटै वितरण केन्द्रमा छनौट गरिएका मध्ये केही व्यक्तिहरु कारणबस सो दिन राहत लिन नआएकाले उहाँहरुको नाममा रहेको खाद्यान्न सामग्री बचेको सांचो हो । छनौट गरि राहत लिन छुटेका व्यक्तिहरुलाई भोलीपल्ट वितरण गर्ने गरी अन्य वितरण केन्द्रबाट बचेका खाद्यान्न वडा कार्यालयमा ल्याएपनि जनकल्याण आ.वि. केन्द्रको बचेको खाद्यान्न वडा कार्यालय लैजानेक्रममा स्थानीय केही युवाहरुले अवरोध गरेका हुन् । युवाहरुलाई सम्झाउंदा पनि नलागेपछि प्रशासनले नियन्त्रणमा लिएको हो । भोलिपल्ट म स्वयं वडाध्यक्ष, नगर प्रमुख र केही अग्रजसहितको रोहवरमा प्रहरीचौकीबाट युवाहरुलाई छुटाएको सबैलाई जानकारी नै छ ।
उता प्रदेश भिजन प्रा.लि.का प्रबन्ध निर्देशक भीमराज अधिकारीले प्रकाशित बिज्ञाप्ति प्रती ध्यान आकर्षण भएको उल्लेख गर्दै धम्की नदिएको जनाएका छन् । उनले कार्यक्रम आफ्नो कम्पनीबाट माग गरेको एउटा बिषयमा बिल भर्पाइ मागेपनी बिज्ञाप्तिमा भनिए जस्तो धम्की नदिएको उल्लेख गरेका छन् ।
वडा अध्यक्षको बिज्ञाप्ति प्रकाशन गरेपछी भीमराज अधिकारी र कुमार खड्काले फेरि भण्डारी बिरुद्ध समाचार प्रकाशन गरेका छन् । पत्रकारिताको आचार संहिता अनुसार प्रतिशोधको आधारमा समाचार बनाउन पाइन्न ।