शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ७ मा पनि कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समिति गठन भएको छ । आज मंगलबार वडाध्यक्ष कपिलमणि ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाबाट उक्त समिति गठन भएको हो ।
वडा नं. ७ कार्यालयको अगुवाईमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि वडास्तरीय समिति निर्माण गरिएको हो । आम भेलाबाट वडाध्यक्ष ढकालको संयोजकत्वमा ६ सदस्यीय समिति निर्माण भएको वडा सदस्य विर्खबहादुर मगर (विरोज)ले जानकारी दिए । समितिको सदस्य सचिममा वडा सचिव सरोज भट्टराई रहेका छन् ।
यसैगरी, सदस्यहरुमा वडा सदस्य कासीराज राई, विर्खबहादुर मगर, उद्धबराज बस्नेत, रामकाजी बस्नेत रहेका छन् । समितिको सल्लाहकारमा वडा सदस्यहरु मैनाकुमारी लिम्बू राई, कुमारी रोक्का, तिलक बोगटी, देवी भेट्वाल, नेकपाका तर्फबाट रोहित बास्तोला, नेपाली कांग्रेसको तर्फबाट रामकाजी बस्नेत, तिलक बोकटी रहेका छन् ।
समितिको पहिलो बैठकले, वडामा दैनिक ज्यालादारी मजदुरको संख्या संकलन गरी नगरपालिकामा पठाउने र उनीहरुका लागि वडासँगको समन्वयमा राहत व्यवस्थापन तथा वितरण गर्ने पनि निर्णय भएको छ । नव गठित समितिबाट राहत संकलन गरी नगरपालिकालाई बुझाउने निर्णय भएको वडासदस्य एवं समिति सदस्य विर्खबहादुर मगरले जानकारी दिए । मगरका अनुसार वडामा कुनै संघ संस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा एकद्वार प्रणाली मार्फत् वडामा गठित समितिको माध्यमबाट नै वितरण गर्न अनुरोध गर्ने निर्णय समेत भएको छ ।
चैत १ गतेयता विदेशबाट घर फर्किएका नागरिकको विवरण संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।