



शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ कार्यालयको अगुवाईमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि वडास्तरीय समिति निर्माण गरिएको छ ।
वडा कार्यालय, नगर कार्यपालिका सदस्य, जनपथ प्रहरी, शसस्त्र प्रहरी, रेडक्रस र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको आज मंगलबार बसेको बैठकले वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको संयोजकत्वमा ६ सदस्यीय समन्वय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा वडा सचिव ललिता लावती रहेकी छिन् ।
यसैगरी सदस्यहरुमा जनपथ प्रहरीको तर्फबाट कुशेचौरी प्रहरी चौकी शनिश्चरेका ईञ्चार्ज हरिनारायण राजवंशी, शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका ईञ्चार्ज सुमन राई, रेडक्रसका तर्फबाट रामप्रसाद न्यौपाने, स्वास्थ्य चौकीका प्रतिनिधि र उद्योग वाणिज्य संघका तर्फबाट नरेन्द्र थापासहित ७ सदस्यीय समिति गठन भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । समितिको सल्लाहकारमा नेकपाको तर्फबाट वडा संयोजक गंगा साँवा र नेपाली कांग्रेसको तर्फबाट नन्दबहादुर बस्नेतलाई चयन गरिएको छ ।
वडाध्यक्ष गोविन्द बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडासदस्यहरु खड्ग सुस्लिङ, तुलसादेवी दर्जी, अमर बराईली, दिलु मगरको उपस्थिति रहेको थियो ।
बैठकले, वडामा दैनिक ज्यालादारी मजदुरको संख्या संकलन गरी नगरपालिकामा पठाउने र उनीहरुका लागि वडासँगको समन्वयमा राहत व्यवस्थापन तथा वितरण गर्ने पनि निर्णय भएको छ । नव गठित समितिबाट नै नगरबाट प्राप्त भएको राहत आफ्नो वडामा वितरण गर्ने र आवश्यकता हेरी वडामा समेत राहत संकलन गरी वितरण गर्ने निर्णय भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । वडामा कुनै संघ संस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा एकद्वार प्रणाली मार्फत् वडामा गठित समितिको माध्यमबाट नै वितरण गर्न अनुरोध गर्ने निर्णय समेत भएको छ । यदि कसैले सहयोग गर्न चाहेमा वडाध्यक्ष भण्डारीको मोबाइल नं. ९८५२०६७४१२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
चैत १ गतेयता विदेशबाट घर फर्किएका नागरिकको विवरण संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
कोरोनाको ‘लकडाउन’लाई कडाईका साथ पालना गर्न लगाउने तथा खाद्यान्न, सागसब्जी, दुध, फलफुलको सुरक्षित व्यवस्थापन गर्ने कुरामा बैठकले जोड दिएको छ । बैठकमा वडाका राजनीतिक दलको प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबीच, पथरीशनिश्चरे ९ का वडाध्यक्ष भानुभक्त राईको अध्यक्षतामा राहत समिति गठन भएको छ । समितिको सदस्य सचिवमा वडा सचिव दिर्घराज राया रहेका छन् ।

यसैगरी, सदस्यहरुमा फडिन्द्र कार्की, पिताम्बर बास्कोटा, मुकुन्द पौडेल, सशस्त्र प्रहरीको तर्फबाट सुमन राई, जनपथ प्रहरीको तर्फबाट हरिनारायण राजवंशी, देवेन्द्र वनेम, सुमन वनेम, प्रकाश कार्की र मदनबहादुर अधिकारी रहेका छन् ।
यसैगरी, पथरीशनिश्चरे वडा नं. ८ मा पनि वडामा कोरोना रोकथाम तथा श्रमजीवी मजदुर परिवार तथा बिपन्न बर्गलाई राहत वितरण गर्नका लागि समिती गठन गरिएको छ ।
समितिको संयोजकमा वडा अध्यक्ष बाबुराम दाहाल, सदस्यहरु सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा अध्यक्ष नवीन जङ्ग कार्की, नेपाली कांग्रेस वडा सभापति ख्याम ब. खड्का, क्रान्तिकारी माओबादीको तर्फबाट नेता सुरेन्द्र चापागाईं रहेका छन् ।

वडाध्यक्ष बाबुराम दाहालको अध्यक्षतामा सम्पन्न बैठकले वडाभित्र नयाँ मानिसको प्रवेशलाई गणना गर्ने र अभिलेख बनाइ होम क्वारेन्टाइनमा बस्न लगाउने, लकडाउनलाई अझ ससक्त बनाउनको लागि र बाहिरबाट प्रबेश गरेका मानिसको बारेमा जानकारी लिनको लागि स्वयंसेवकको रुपमा खटाउन ८ नम्बर वडालाइ १० भागमा बिभाजन गरिएको छ । यस्तै, १ घर १ हातधुने साबुन बितरण अभियान तुरुन्तै सुचारु गर्ने, ८ नम्बर वडाभित्र बसोवास गर्ने श्रमजीवी मजदुर तथा बिपन्न परिवारको गणना गरि क, ख र ग गरेर तीन श्रेणिमा बिभाजन गरि राहत सामग्री स्वरुप खाद्यान्न वितरण गर्ने निर्णय भएको वडाध्यक्ष दाहालले जानकारी दिए ।