पथरीशनिश्चरेमा जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि समिति निर्माण - Pahilo Online

पथरीशनिश्चरेमा जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि समिति निर्माण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि समिति निर्माण गरिएको छ । नगरपालिका, इलाका प्रहरी र पथरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको आजको बैठकले नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा ६ सदस्यीय समन्वय समिति गठन गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए ।

समितिको सदस्यहरुमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेलाई चयन गरिएको छ । बैठक नगर प्रमुख राईको अध्यक्षतामा बसेको थियो ।

बैठकले, प्रत्येक वडाबाट दैनिक ज्यालादारी मजदुरको संख्या २ दिनभित्र संकलन गरी नगरपालिकामा पठाउने र उनीहरुका लागि वडासँगको समन्वयमा एकद्धार प्रणालीबाट राहत व्यवस्थापन तथा वितरण गर्ने पनि निर्णय भएको छ । वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा दैनिक ज्यालादारी मजदुरको पहिचान गरी राहत व्यवस्थापनका लागि समिति समेत गठन गरिने छ । चैत १ गते यता विदेशबाट घर फर्किएका नागरिकको विवरण वडा कार्यालयमार्फत संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

कोरोनाको ‘लकडाउन’लाई कडाईका साथ पालना गर्न लगाउने तथा खाद्यान्न, सागसब्जी, दुध, फलफुलको सुरक्षित व्यवस्थापन गर्ने कुरामा बैठकले जोड दिएको छ । बैठकले, यसका साथै नगरपालिका, वडा क्षेत्रमा कोरोना संक्रमणबाट वच्ने औषधि छर्किएर निर्मलिकरण (डिसइन्फेक्टेड) गराउने समेत निर्णय गरेको छ । बैठकमा नगरका वडाध्यक्ष सहितको सहभागिता रहेको थियो ।

यसैबीच, समन्वय समितिका सदस्य दीपक वस्नेतले राहत कोषका लागि व्यक्तिगतरुपमा १ लाख १ हजार रुपैयाँ प्रदान गर्ने बैठकमा घोषणा गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes