पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ३ नम्वर वडा कार्यालयको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङले बुधबार भवनको शिलान्यास गरेका छन् ।
वडाको आइतवारेमा प्राप्त भएको जग्गामा ४७ लाख ५७ हजार ६ सय ६५ रुपैयाँको लागतमा पर्शुराम निर्माण सेवाले निर्माणको ठेक्का लिएको छ । भवनका लागि नगरले ६८ लाख १० हजार ४५ रुपैयाँको लागत स्टिमेट गरेको थियो । स्थानीय घनश्याम कोइराला, केदार कोइराला, बद्रीनाथ कोइराला, रुद्रप्रसाद पोखरेल, झनप्रसाद पोखरेल, खोमप्रसाद पोखरेल, नन्दी अधिकारी, थमानसिंह सुन्दासले गरी १० कठ्ठा बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।
यसैगरी ८, नम्वर वडा कार्यालयको भवन पञ्चेबाजा बजाएर शिलान्यास गरेका छन् । सोमवार नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र वडाध्यक्ष बाबुराम दाहालले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
स्थानीयवासीले संकलन गरेको १० लाख रुपैयाँको १ कठ्ठा र सोमवारे वजारको अन्य गरी साढे ४ कठ्ठा जग्गामा कार्यालय भवन निर्माण हुने भएको छ । ६८ लाख रुपैयाँको नगरको स्टिमेटमा ४७ लाखमा भवनको ठेक्का लागेको छ । यसअघि वडा नम्वर २ र ७ को भवनको पनि शिलान्यास भइसकेको छ ।