मापासे चेकजाँचको नाममा प्रहरी प्रमुखको ज्यादती - Pahilo Online

मापासे चेकजाँचको नाममा प्रहरी प्रमुखको ज्यादती

आन्तररिक भोजमा समेत हप्तक्षेपको प्रयास

writer

पहिलो अनलाइन

मोरङ । मोरङको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले शान्ति सुरक्षाको नाममा आवश्यक भन्दा बढी सास्ति दिने गरेको गुनासो बढ्दै गएको छ ।
पथरी प्रहरी प्रमुख गिरीले चोरी नियन्त्रण लगायतको शान्ति सुरक्षा भन्दा बढी मादक पदार्थ सेवन (मापसे) चेकजाँचको नाममा ‘दादा गिरी’ शैलि प्रस्तुत गर्न थालेको गुनासो बढेको हो । पथरी बजारमा दैनिक जसो हुने चेकजाँचमा डिएसपी गिरी आफै हुनु सकारात्मक कुरा हो ।
मापसे चेकमा आफै उभिने डिएसपी गिरीको सावारी चालकलाई गर्ने व्यवहार भने ‘गुन्डा गर्दी’ शैली प्रति भने गुनासो बढेको हो । हप्तादिन अघि पथरीस्थित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको टिम वनभोज गएको थियो ।

वनभोजबाट फर्केर कार्यालयमा राखिएको मोटरसाइकल लिएर घर फिर्दै गर्दा सहकारी कर्मचारीका कोषाध्यक्ष दोर्ण खड्कालाई डीएसपीको टोलीले भेटेर बाइक खोसिदिएको गुनासो छ । ‘मलाई मापसे गरेको छौ भनेर सोधियो, मैले दिउँसो २ बजे खाको भने ।’– खड्काले भने ‘त्यसपछि डीएसपी गिरीले बाइक छोड्न भनेपछि मैले बाइक छोडेको भर्पाइ माग गरे तर दिइएन । भोलिपल्ट इलाका प्रहरी कार्यालय गएर बाइक निकाल्दा पेट्रोल र व्याट्री झिकिएको आवस्थामा थियो ।’ हालसम्म मातेर दुर्घट्ना गराएको र सामाजिक रुपमा असहज पैदा नगरेको दावी गर्दै खड्काले भने ‘मापसे क्लास लिन दुई दिनसम्म विराटनगर धाउनु प¥यो ।’

त्यसैगरी पथरीकै हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर पनि पीडित भएको बताउँछन् ।
मगरको घर पथरी बजारदेखि करिव ४—५ किलोमिटर दक्षिण गाउँमा पर्दछ । मगरले आफुलाई घर फिर्ने क्रममा अनावश्यक सोधखोज हुनुको साथै मापसेमा पर्दा डीएसपी दिलिप गिरीले बाइक नै खोस्ने कार्य सुरक्षा भन्दा बढी ‘दादागिरी शैली’ भएको बताए । मापसे जाँच गर्नु राम्रो भएपनि जाँच गर्दा डीएसपी गिरीको शब्द ज्यादै रुखो हुने गरेको अध्यक्ष मगरले बताए ।

मापसे कै विषयलाई लिएर डीएसपी गिरीले होटल तथा आन्तरिक भोज (पार्टी) कार्यक्रम भित्र छिरेर समेत दुःख दिने गरेको गुनासो आइरहेको छ । २०७६ फागुन २० गते पथरीमा रहेको रेडियो सिम्रिक सञ्चालक समितिको बैठक थियो । बैठक अवेरसम्म चलेपछि नजिकै रहेको मनोहर पार्क(निमाणाधिन होटल) मा खाना बनाउन लगाएर खाँन लाग्दा डीएसपी गिरी आफै छिरेर हप्कीदप्की गरेको समितिका अध्यक्ष अमिर (धनराज) राईले बताए ।

डीएसपी गिरीले रेडियोको टोलीमै चाँडो घर जानु भन्दै हप्काउन थालेपछि अध्यक्ष अमिरले तपाई नयाँ हुनुहुन्छ हाम्रो घर नजिकै हो भन्दा ‘म नयाँ होइन’ भनेर चर्केपछि बिषय केहीबेर लम्बिएको अध्यक्ष राईले बताए । मनोहरमा राखिएको सवारी साधन देखाउदै गिरीले ‘मातेको मान्छेले यो बाइक कुदाउँछ ?’ भन्दै चाँडो घर नगए कारबाही हुने धम्कि दिएका थिए ।

यसैगरी, केही समय अघि डीएसपी गिरी प्रहरी टोलीसहित पथरी चोकमा रहेको सिक्का बारमा पसेर सञ्चालक र ग्राहकहरुलाई हप्कीदप्की गर्दै मापसे गरेर बाइक चलाए कारबाही हुने बताएको सञ्चालक धीरेन साम्बाले बताए । डीएसपी गिरीले होटलमा छिरेर हप्काएनन् मात्र सबैलाई उतारेर बाइक चढ्न लगाए । त्यसपछि मापसे भन्दै सबै बाइकहरु प्रहरी कार्यालय लगेर दुःख दिएको साम्बाले बताए ।
नेपाली कांग्रेसको मोरङ २ नम्बर क्षेत्रीय सभापति गणेश खड्का पनि पीडित बने । तीन दिन अघि पथरीको सिनभिलेज पार्टी प्यालेसबाट एउटा बिबाहमा राखिएको खड्काकी श्रीमतीको हेलमेट हरायो । घर फिर्दै गर्दा हेलमेट नलगाई स्कुटर कुदाएको अरोपमा प्रहरीले यलम्बर चोकमा रोके ।

अर्को बाइकमा रहेको सभापति खड्काले यथार्थ बताउँदा पनि डीएसपी गिरीले छाडेनन् र स्कुटर इलाका लगे । यलम्बर चोकमा सभापति खड्का र डीएसपी गिरीको निक्कै लामो भनाभन् भएको थियो ।
हेलमेट नलगाएकोमा पक्राउ परेको स्कुटर नवीकरण नभएकोमा एक हजार रुपैयाँ तिरेर मात्र निकाल्नु प¥यो । सवारी चेकजाँच गर्नु राम्रो भएपनि अवस्था हेरेर व्यवहारिक रुपमा कतिपय कुरा सहज गर्दा राम्रो हुने सभापति खड्काको भनाई छ ।

इलाका ट्राफिक प्रहरी कार्यालयको रेकर्ड अनुसार पुषमा ६५० वटा सवारीलाई करबाही भएको मध्ये ७५ मापसे रहेको छ । त्यसैगरी माघमा ६०० मा ८१ वटा र फागुन २६ गतेसम्म १०५ वटा मापसे सम्बन्धी कारबाही भएको पथरी ट्राफिक प्रहरी प्रमुख सई बलराम सिग्देलले बताए ।
मापसे चेकजाँचले सवारी दुर्घट्ना घटाउने र राजस्व बढ्ने गरेपनि सेवा तथा सुरक्षा भन्दा बढी डीएसपी दिलिप गिरीको अनआवश्यक दुःख दिने मनसाय र ‘दादागिरी शैली’प्रति असन्तुष्टी बढेको हो ।

काठमाडौं लगायतका सहरहरुमा मापासेमा परेका व्यक्तिहरुको सवारी अनुमति पत्र राखेर चिट काटी मापासे नगरेको चालक बोलाएर सावरी साधन उनैसँग पठाउछन् । तर, पथरीमा भने मापासेमा परेपछि सवारी साधननै प्रहरीले लिने गर्दा घर पुग्न गारो हुने हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरको भनाइ छ ।

नियन्त्रणमा लिएको सवारी साधन सिद्धै इलाका प्रहरी कार्यालय परिसरमा लगिन्छ । ट्राफिक प्रहरी कार्यालय पूर्व बस स्टेन (पथरीको पूर्वी छेउ)मा छ । इलाका प्रहरी कार्यालय पथरी जाँते मोड उत्तरमा । ट्राफिक र इलाका प्रहरी कार्यालयको दुरी करिव चार सय मिटर रहेको छ ।
मापासेमा परेका सवारी साधन लिन जाँदा ट्राफिकमा रसिद काटेर, इलाका प्रहरी कार्यालय जानुपर्ने, त्यहाँ कर्मचारीले प्रमुख व्यक्तिलाई सोध्नु पर्ने, सोधेर लिखित रुपमा जिम्मा लिनुपर्ने झन्जट रहेको पीडित दोर्ण खड्काले बताए । ट्राफिकबाट चिट काटेर इलाका प्रहरी कार्यालयबाट सवारी साधन लिएपछि बल्ल मापासे क्लास लिन करिव ५० किलोमिटर विराटनगर जिल्ला प्रहरी कार्यालय मोरङ गएर आउनुपर्ने हुन्छ ।

मादक पदार्थ सेवन गर्नु र सेवन गरेर सवारी साधन चलाउनु राम्रो होइन । यसलाई नियन्त्रण गर्ने प्रयास राम्रो भएपनि परि हाल्नेहरुलाई सचेत गराउने वा सुध्रिनको लागि सुझाव दिने भन्दा अपराधिलाई यातना दिएजस्तो भइरहेको खड्काको भनाइ छ ।
मापासेमा परेका व्यक्तिहरुलाई अन्य स्थानमा जस्तो चिट काटेर सवारी अनुमति पत्र लिएर सेवन नगरेका चालक बोलाएर सवारी साधन जिम्मा लगाउने, सवारी साधन प्रहरीले नै राख्नु परेको अवस्थामा ट्राफिक प्रहरीको परिसरमा राखिए मानिसले अनआवश्यक झन्जट बेहोर्नु पर्नेछैन । मापासेको कक्षा लिन ५० किलोमिटर विराटनगर पुग्नु पर्ने भएको हुँदा पूर्वी मोरङको लागि छुट्टै मापासे कक्षा सञ्चालनको व्यवस्था मिलाउनु पर्ने अमिर राईको भनाइ छ ।

पथरीशनिश्चरे नगर १० नम्बर वडा अध्यक्ष सागर राईले डीएसपी गिरीको सक्रियता राम्रो भएपपनि व्यवहारिक कुराहरुमा भने सम्झाउनु पर्ने अवस्था आएको प्रतिकृया दिए । पथरी ट्राफिक प्रहरी प्रमुख सई बलराम सिग्देलले मापासे परीक्षणमा कसैले कसैलाई गालि गलैज भने गर्न नुहने बताए ।
मापासेमा परेका व्यक्तिहरुले अवश्यक भन्दा बढी झन्जट व्यहोर्नु परेको स्वीकार्दै ट्राफिक कार्यालयमा कम्पाउण्ड नभएको कारण सेवाग्रहीले सास्ति भोग्नु परेको बताए । यद्यपि मापासेमा परेका व्यक्तिहरुलाई सवारी साधन वा ब्लुबुक, सवारी अनुमति पत्र लिने कुरामा सहज बनाउन प्रयास गर्न सकिने बताए ।

यसैगरी, मंगलबार होली खेलीरहेका पथरीशनिश्चरे–४ का सरोज चम्लागाई र मनिलाल जोगीलाई प्रहरीले ज्याजती गरेको छ । उनीहरु होली खेलेर घर फर्किने क्रममा प्रहरीले कुटपिट गर्दै हिरासतमा राखेको पिडितका आफन्तले बताएका छन् । उनीहरुलाई प्रहरीमाथी अभद्र व्यवहार गरेको आरोप लगाउँदै मुद्दा चलाएको छ ।
होलीको दिन प्रहरीले ७२ वटा सवारी साधनलाई कारवाही गरेको छ । जसमा ९ वटा मापसे र अन्य कागज नभएका, तीनजना सवार, हेल्मेट नलगाएका व्यक्तिहरु रहेका थिए ।
स्थानीय समाजिक, राजनीतिक व्यक्तिहरुले कतिपय कुरामा डीएसपी गिरीलाई सम्झाउने प्रयास गर्दा आफू १८ बर्षदेखि प्रहरीको काम गरेकोले सिकाउन नपर्ने बताउने गरेका छन् ।

बाइकको व्याट्री र पेट्रोल चोरी भएको बारे डिएसपी गिरीले भने –‘हामी कसैको बाइकको स्क्राच पनि गर्दैनौ, व्याट्री र पेट्रोल पनि झिक्दैनौं ।’ यी सबै आरोपहरु भ्रामक, कपोल्कल्पीत भएको उनले दावी गरे । ‘यदि कुनै प्रहरीले त्यसो गरेको प्रमाण पु¥याएमा म कारवाही गर्छु’– उनले भने ‘मापसे चेकमा आजसम्म दोहोरिएर कोही व्यक्ति परेका छैनन् सायद सचेत गरेर होलान् ।’
डीएसपी गिरी १८ बर्षे जागिरको धम्कि दिने गरेपनि ट्राफिक प्रहरी प्रमुख बलराम सिग्देल भने २९ बर्षदेखि प्रहरी सेवामा रहेका छन् । सई सिग्देलले भने आफू २९ बर्ष भयो जागिर खाएको भन्दैनन ।

थुनुवासंग ५ हजार रकम असुलो पथरी प्रहरीले
इलाका प्रहरी कार्यलयले थुनुवाबाट पैसा असुल्ने गरेको रहस्य खुलेको छ । फागुन ११ घरायसी झगडामा थुनामा परेका जोग बहादुर राईलाई १२ गते मिलापत्र गर्दा ५ हजार लिएको राईले बताएका छन् ।

पथरी शनिश्चरे ३ का जोग बहादुर राईलाई प्रहरीले मापसे गरेर झगाडा गरेको भन्दै एक रात थुनेको र कार्यलयको चौरी सफागर्न लगाएको राईले बताए । मिलापत्र गर्दा एक बिना बर्दिका प्रहरीले पहिलो चोटी पर्दा ५ हजार देखि १० हजार सम्म तिर्नु पर्ने र अर्को पटक पर्दैन भन्दै ५ हजार लिएको बताए । अको पटक तिर्नु नपर्ने भन्दै मागे पछि डरले अर्कैसंग पैसा मागेर दिएको राईको भनाई छ ।
उक्त विषयमा इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीलाई बुझदा प्रहरीबाट त्यस्तो भएको रहेछ भने उक्त प्रहरीलाई निलम्बन गर्ने बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes