पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संविधानमा महिलाका हक अधिकार लेखिएपनि सवैकुरा व्यवहारमा लागू नहुदा समस्या भइरहेको बताइन् ।
११० औं अन्तरराष्ट्यि श्रमिक महिला दिवशको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश, मोरङ जिल्ला र पथरीशनिश्चरे नगर समितिको संयुक्त आयोजनामा पथरीशनिश्चरेमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा उनले सो कुरा बताएकी हुन् ।
उनले महिला अधिकार पूर्ण रुपमा लागू भएर सम्मानजनक अवस्था नहुनमा पुरुषको मात्र दोष नभई संस्कार र सोचको दोष रहेको जनाएकी छिन् । उनले आसन र भाषणमा मात्र महिला भएर नहुने बताउँदै शासनमा महिला हुनुपर्ने समेत बताएकी छिन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव अग्नी पौडेलले महिला अधिकार व्यवहारमा लागू गर्नुपर्ने तथा सामुदायिक वनमाथि तेहेरो कर लगाउन नहुने विचार राखे ।
सो अवसरमा, महासंघकी प्रदेश सचिवालय सदस्य रेणुका दहाल, मोरङ जिल्ला उपाध्यक्ष सुभद्रा भट्टराई, मिक्लाजुङकी सीता गजमेर, उर्लावारीका अमृतबहादुर वस्नेत, यानकुमारी दहाल, पथरीशनिश्चरेका काबुलबहादुर मगर सहितले मन्तव्य तथा हेमकला ओझा र बालकृष्ण अधिकारी सहितले कविता वाचन गरेका थिए । महासंघका नगर अध्यक्ष रवीन्द्रकुमार राईको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको सचिव मैनादेवी फूयाँल आचार्यले जानकारी दिइन् ।