सोलुखुम्बु । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै तेन्जिङ हेलारी विमानस्थल लुक्लामा हेल्थ डेस्क स्थापना गरिएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर यात्रुको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।
शनिबारदेखि सञ्चालन गरिएको हेल्थ डेस्कमा बिहान ५ बजेदेखि दुईजना स्वास्थ्यकर्मी खटिएको विमानस्थलका प्रमुख इमानाथ अधिकारी जानकारी दिए। हेल्थ डेस्कमा शंकास्पद बिरामी फेला परे थप अनुसन्धान र उपचारका लागि काठमाडौं पठाइने गाउँपालिकाले जनाएको छ। पर्यटकीय क्षेत्र भएकाले विमानस्थलमार्फत खुम्बु भित्रिने पर्यटक स्वास्थ्य परीक्षण गर्न हेल्थ डेक्सको स्थापना गरेको प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए। पहिलो दिन ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । हाल खुम्बु क्षेत्रमा पर्यटकीय सिजन सुरु भए पनि कोरनाकै कारण चहलपहल कम छ। हाल दैनिक ५० देखि ६० जनासम्म पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गरेका छन्।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमनस्थलबाट हवाईमार्ग हुँदै सगरमाथा क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउँछन्। सगरमाथा राष्ट्रिय निकुञ्ज समेत रहेको यस क्षेत्रमा बर्से्नि हजारौं पर्यटकले खुम्बु भ्रमण गर्ने गरेका छन्। यस क्षेत्रका मानिसहरुको मुख्य आम्दानीको स्रोतनै पर्यटन हो। तर, यस वर्ष कोरनाका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेकाले व्यवसायी चिन्तित छन्। करोडौं लगानी गरेर पर्यटक लक्षित होटल पसल सञ्चालन गरेको भए पनि पर्यटक नआउँदा आफुहरु चिन्तित बनेको नाम्चेका होटल व्यवासायी लामाकाजी शेर्पाले बताए।