पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ओछ्यान परेका पूर्ण असक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमै गएर परिचयपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ ।
अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा डाक्टर सहितको टोलीले वडा नम्वर २, ५ र ६ मा पूर्ण असक्तहरुको अवस्था अध्ययन गर्दै उनीहरुलाई परिचयपत्र दिने प्रक्रिया अघि बढाइएको समितिकी सदस्य सचिव गीता कट्टेलले जानकारी दिइन् । पहिलो दिन ती वडाका १२ जना पूर्ण असक्तहरुको घर घरमै गएर उनीहरुको अवस्था जाँच गरी कागजी प्रक्रिया पुरा गरेर परिचयपत्र वितरणको क्रम अघि बढाइएको उनले वताइन् ।
ती वडाका बाँकी टोलहरु तथा अन्य वडाहरुमा पनि पूर्ण असक्तहरुलाई घरघरमै गएर उनीहरुको अवस्था जाँच गरी परिचयपत्र प्रदान गरिने जनाइन् । नगरपालिका कार्यालयमा भनें प्रत्येक महिनाको १५ र ३० गते अपाङ्गता परिचयपत्र वितरण कार्य हुँदै आएको छ । यसक्रममा हालसम्म नगरबाट २ सय जनाले परिचयपत्र लिइसकेका छन् ।