
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा आर्थिक विपन्नहरुको अवस्था उकास्न शिपमुलक तालिमहरुको आवश्यकता रहेको बताएकी छिन् ।
उपप्रमुख वास्तोलाले प्रमुख अतिथिका रुपमा आज पथरी शनिश्चरे १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ३ प्रकारको तालिमको उद्घाटनका क्रममा सो कुरा बताएकी हुन् ।
उनले नगरपालिकाले ढाकातानलाई महिलाहरुको शिपमुलक व्यवसाय नगरकै पहिचान बनाउन २ स्थानमा तालिम सञ्चालन गरिरहेको प्रसंग उल्लेख गर्दै वन समूह सहित संघ संस्थाहरुले यसखाले कार्यक्रम अघि बढाउनु आवश्यक रहेको बताइन् । कार्यक्रममा १० नम्वर वडाध्यक्ष सागर राइर्, समूह अध्यक्ष इश्वर चौहान सहितले मन्तव्य व्यक्त गरेका थिए ।
गरिवी न्यूनिकरण अन्तर्गत वन समूहले ३ महिने सिलाई बुनाई, १ महिने ढाका तान र १ महिने हलुवा यातायातका साधन चालक सम्वन्धी तालिम सञ्चालन गरेको समिति सचिव मैनादेवी आचार्यले जानकारी दिइन् । साथै सो वन समूहले आजैदेखि १ दशमलव ३ हेक्टर क्षेत्रफलमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको योजना सुरु गरेको छ ।
