संखुवासभा । उपचार गराएको रकम तिर्न नसकेर आठ महिनादेखि मोरङको विराट अस्पतालमा ‘बन्धक’ बनाइएका संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । जीवनलाई अस्पतालबाट आठ महिनापछि उद्धार गरिएको हो।
गत असार ५ मा भोजपुरको षडानन्द नगरपालिका–१ को इर्खुवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुरहरुबीच विवादले उग्र रुप लिएपछि मजदुरहरुबीच कुटाकुट भएको थियो । झगडा गर्नेलाई छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र घाँटीमा रड प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो। तर, उनको धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल पु¥याइएको थियो। टाँउको र घाँटीमा गम्भीर चोट लागेका जीवनको घाँटीको शल्यक्रिया, औषधि र खाना खर्च गरी आठ लाख रुपैयाँ खर्च भएको थियो। तर, उपचारको रकम बुझाउन नसकेपछि उनाई लामो समयदेखि अस्पतालमै बन्धक बनाइएको थियो।
जीवनलाई उद्धार गर्न पूर्वगृह सचिव प्रेम राई र संघीय सांसद राजेन्द्र गौतमको पहलमा गृह मन्त्रालयबाट पाँच लाख र खाँदबारी नगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको सांसद गौतमले जानकारी दिए। अस्पतालमा सात लाख रुपैयाँ भुक्तानी गरेर जीवनलाई सोमबार उद्धार गरिएको खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडाले बताए। जीवनलाई उद्धार गरेर अहिले धरानमा राखिएको छ। बन्दक बनाइएको जीवनको उद्धार गर्न सखुवासभाका प्रदेश सांसद पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ र खाँदबारी नगर प्रमुख खतिवडा सोमबार विराट अस्पताल मोरङ पुगेका थिए। जीवनको दोस्रो चरणको शल्यक्रिया गर्न उनलाई काठमाडौंको टिचिङ अस्पताल लग्ने तयारी भएको नगर प्रमुख खतिवडाले जानकारी दिए ।
जीवनको घाँटीमा गहिरो चोट लागेका कारण श्वास फेर्न प्वाल पारेर पाइप राखिएकाले बोल्न नसक्ने अवस्थामा छन्। उनको दोस्रो चरणको उपचारपछि मात्र आवाज आउने चिकित्सकले बताएका छन्। त्यसैले जीवनको दोस्रो सल्यक्रिया काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा गर्ने नगरप्रमुख खतिवडाले बताए। जीवनलाई आक्रमण गर्नेहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो। उनीहरुलाई जिल्ला प्रशासन भोजपुरले जनही पाँच हजार रुपैयाँ धरौटीमा गत असार ३० मा छाडिसकेको छ।