सुनसरी । बलात्कार मुद्दामा उच्च अदालत बिराटनगरबाट थुना आदेश भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी झुम्का कारागार चलान भएका छन्। गत माघ ९ गते उच्च अदालत विराटनगरमा बहस चलिरहेकै बेला भारत पसेका उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएपछि झुम्का कारागार पठाइएको हो। आफ्नै अनुयायी लाई बलात्कार गरेको आरोपमा उच्च अदालत बिराटनगरले सुनुवाइ गर्ने दिन (माघ ९ गते) उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए । धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी ’सिद्धबाबा’ लाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो ।
दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो । आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए। उच्च अदालतको आदेश आउने दिन नै फरार भएका उनी १ महिना पछि पुनः जिल्ला अदालत सुनसरीमा हाजिर भएका हुन्।