पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप लगाउने र पोलियो थोपा खुवाउने १ साताको कार्यक्रम सम्पन्न भएको छ । जसमा, ९ महिनादेखि ५ वर्षसम्मका ५ हजार ८ सय ३९ बालबालिकाले आज १ बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन् । एकैसाथ जारी अभियानमा जन्मेदेखि ५ वर्षसम्मका ६ हजार ७ सय ४२ बालबालिकाले पोलियो थोपा खाएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । अभियान गत फागुन ७ देखि १६ सम्म सञ्चालित थियो ।
नगरपालिकाले ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउन बनाएको लक्ष्य पुरा गरेको छ । खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको थियो । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ ।
यसअघि मुख्यगरी खोप अभियानलाई प्रभावकारी बनाउन वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार सहितसँगको अभिमुखिकरण कार्यक्रम राखिएको थियो । ३ वर्ष अघि पूर्ण खोप सुनिश्चितताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको थियो । नगरमा ८० प्रतिशत हाराहारीमा खोप लगाएको अवस्था रहिरहेको छ ।