पुलिसलाई हराउँदै मनाङलाई बुढासुब्बा गोल्डकपको उपाधि - Pahilo Online

पुलिसलाई हराउँदै मनाङलाई बुढासुब्बा गोल्डकपको उपाधि

writer

धरान । मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै मनाङले उपाधि उचालेको हो ।

धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक, एक गोल गरे । पुलिसका लागि भने कप्तान भोला सिलवालले एक गोल फर्काए । मनाङले खेलको दसौं मिनेटमा दयानन्दको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

दयानन्दले पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए । खेलको पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रहेको थियो । यस्तै खेलको ५०औं मिनेटमा विशाल लिम्बूले गोल गर्दै मनाङलाई अग्रता दिलाए ।

यसैगरी खेलको ६५औं पुलिसले पेनाल्टीको मौका पाएको थियो । मनाङको पोस्टअगाडि डी एरियामा पुलिसका जुमानु राईमाथि खराब ट्याकल भएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसमा पुलिसका कप्तान भोला सिलवालले सहजै गोल गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा मनाङका विमल रानाले उत्कृष्ट गोल गरे । उनको गोलसँगै मनाङले पुलिसलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो । यससँगै मनाङले मोफसलको सर्वा्धिक चर्चित गोल्डकपको उपाधि आफ्नो बनाएको छ । छैटौं पटक फाइनलमा पुगेको मनाङले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो ।

यता, ११औं पटक फाइनल प्रवेश गरेको नेपाल पुलिस क्लबको छैटौं पटक उपाधि जित्ने सपना असफल भयो । सेमिफाइनलमा पुलिसले ए डिभिजन लिग विजेता मछिन्द्र फुबटल क्लबलाई पराजित गरेको थियो भने मनाङले भारतीय क्लब यूकेएफसीलाई हराएको थियो ।

उपाधिसँगै मनाङले नगद १० लाख जितेको छ । उपविजेतामै सीमित पुलिसले नगद ५ लाख जितेको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्म्छिरिङ शेर्पाले पुरस्कार प्रदान गरे ।

मनाङको यो सिजनको पहिलो उपाधि हो । प्रतियोगितामा मनाङका सुरज बिक सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले होण्डाको डियो स्कुटी पुरस्कार प्राप्त गरे । मनाङका दयानन्द सिंहले सर्वा्धिक गोलकर्ता चुनिदै ३५ हजार प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर मनाङका अशोक मास्के, उत्कृष्ट डिफेन्डर पुलिसका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डर मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवार्ड पुलिसका जुमनु राई र उत्कृष्ट प्रशिक्षक मनाङका फुजा तोपे घोषित भए । उनीहरुले जनही २५, २५ हजार प्राप्त गरे । धरान फुटबल क्लबका रिभस मास्के उदयमान खेलाडी चुनिएर १० हजार जिते ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes