पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १० चौकीडाँडास्थित जालपासिंहदेवी आभारभूत विद्यालयलाई आर्थिकरुपमा व्यवस्थित र गुणस्तरीय शिक्षामार्फत अघि बढाइने भएको छ ।
सो विद्यालय सञ्चालनका लागि दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पहिलो संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । सोमवारको बैठकले, विद्यालयलाई वार्षिक रुपमा दिगो रुपमा आर्थिक टेवा पुर्याउन सो क्षेत्रमा पर्ने सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय र नगरपालिका कार्यालयमा माग गर्ने निर्णय गरेको छ । जस अनुरुप हिजो नगर प्रमुख दिलीपकुमार राई समक्ष मागपत्र पेश गरिएको छ ।
०३९ सालमा स्थापना भएर सुकुम्वासी वस्तीको शिक्षामा योगदान पुर्याउँदै आएको विद्यालयलाई दिगो आर्थिक व्यवस्थापनको त्यसखाले उपाय खोजेर आउँदो शैक्षिकशत्रदेखि कक्षा नर्सरीमा अंग्रेजी माध्यम सुरु गर्ने निर्णय भएको प्रधानाध्यापक खगेन्द्रबहादुर थापाले बताए । वार्षिक रुपमा निजी स्रोतका शिक्षकका लागि ४ लाख रुपैयाँ खर्च हुने तर नगरपालिका कार्यालयमार्फत १ लाख ५० हजार रुपैयाँ मात्र आउने गरेकाले सञ्चालनमा ज्यादै कठिनाई भइरहेको उनले उल्लेख गरेका छन् । ‘भौतिक अवस्था त जसो तसो ठीकै छ । तर विद्यालयको आफ्नो कुनै पनि आर्थिक स्रोत नहुँदा वार्षिक २ लाख ५० हजार बढी रकम जुटाउन अत्यन्तै गाह्रो भइरहेको छ ।’ उनले समस्या दर्शाउँदै भने ।
निम्न माध्यामिक तहको एकजना पनि शिक्षक दरवन्दी नभएको सो विद्यालयमा प्राथमिक तहका ४ जना स्थायी शिक्षक, १ जना राहत, २ जना सहयोगी शिक्षक छन् । ३ जना शिक्षकलाई नीजि स्रोतमा राखिएको छ । तलब दिन ज्यादै कठिन भएपछि भर्ना वापत ५ सय रुपैयाँ लिँदै गर्ने अभिभावकसँग सल्लाह भयो । तर त्यसले पनि थेगेन ।
जस अनुरुप नीजि स्रोतका शिक्षक व्यवस्थापनको दिगो स्रोत जुटाउँदै विद्यार्थी बढाउन भर्ना अभियान समेत सञ्चालन गरी गुणस्तरीय शिक्षाका लागि अंग्रेजी माध्यमलाई अघि बढाउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष जीवन कटुवालले जनाए । स्रोत व्यवस्थापनमा पहल गर्न र नजिकका विद्यालयहरुको अंग्रेजी माध्यम सञ्चालन सहितको शैक्षिक व्यवस्थापनको अध्ययन गर्न कटुवालको अध्यक्षतामा ५ सदस्यीय समिति निर्माण समेत गरिएको छ । जसमा, शिक्षक अभिभावक संघका अध्यक्ष युद्धप्रसाद सापकोटाका साथै संघकी अनिता राई, दीपक राई र शिक्षक देवराज थापालाई सदस्य चुनिएको छ । कक्षा ८ सम्म सञ्चालित सो विद्यालयमा २ सय जना विद्यार्थी रहेका छन् । सहयोग जुटाएर १२ वटा कम्प्युटर समेत जोडिएको छ । भौतिक अवस्थामा खासै समस्या छैन । नगरपालिका र वडाबाट यो वर्ष १ लाख २५ हजार भवन मर्मत र १ लाख खेल मैदानका लागि बजेट प्रदान भएको छ ।
२ वटा नयाँ समिति गठन
हालै गठित सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा जीवन कटुवाल तथा सदस्यहरुमा अनिता राई, वडा सदस्य अनोज घिमिरे, दिलबहादुर तामाङ, नीशु राई, सञ्जिता श्रेष्ठ, रोमा राई, शिक्षक प्रतिनिधि हरिप्रसाद ढकाल र सदस्य सचिवमा प्रधानाध्यापक खगेन्द्रबहादुर थापा चुनिएका छन् । शिक्षक अभिभावक संघमा, युद्धप्रसाद सापकोटा अध्यक्ष तथा भूपेन्द्रराज तिम्सिना, दीपक राई, धनबहादुर खड्का, भवुलसिंह तामाङ, कुमार विश्वकर्मा, जनक पोखरेल, पुनम शिवा र शिक्षक देवराज थापा सदस्यमा चयन भएका छन् ।