पथरीशनिश्चरे । उच्च अदालत विराटनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने योजनाका लागि मोरङका ४ पालिकाका न्यायिक समिति संयोजकहरुसँग छलफल अघि बढाएको छ । उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले विराटनगर उपमहानगरकी उपप्रमुख इन्दिरा कार्कीका साथै पथरी शनिश्चरे, उर्लावारी र बेलबारी नगरपालिका प्रमुख एवम् न्यायिक समिति संयोजकहरु क्रमशः यमुना विष्ट वास्तोला, लक्ष्मी भण्डारी र ढाकाकुमारी पराजुलीसँग छलफल गरेका हुन् । उनले जिल्लामा बढी विवादहरु निरुपण गरेका ती पालिकाहरुका उपप्रमुखहरुसँग आफ्नो कार्यकक्षमा छलफल राखेर न्याय सम्पादनको अवस्थाका बारेमा जानकारी लिँदै त्यसलाई थप प्रभावकारी बनाउने उपायका बारेमा वताए ।
उनले पालिकाहरुमा जनप्रतिनिधिहरु र सामाजिक अगुवाहरुसँग छलफल गरेर प्रशिक्षण समेत प्रदान गरी न्याय सम्पादनमा सघाउने समिति बनाएर जान सक्दा बढी प्रभावकारी हुने सोच अघि बढाएको जनाए । आर्थिक अवस्था निम्न भएका तथा बेसहाराहरुका लागि मुद्धाको प्रक्रिया निःशुल्क अघि बढाउन अदालतले वकिलहरुको व्यवस्था गरेको उल्लेख गरे ।
साथै न्यायिक समितिमा जटिल प्रकारको विवाद आएमा तत्काल अदालतमा जानकारी गराउन अनुरोध गर्दै त्यस्ता विवादलाई तुरुन्त हेरेर न्याय सम्पादन गरिने उल्लेख गरेको पथरी शनिश्चरे उपप्रमुख यमुना विष्ट वास्तोलाले वताइन् । भोली जिल्ला अदालतको टोलीले प्रदेशमै सवैभन्दा बढी विवाद निरुपण गर्दै आएको पथरी शनिश्चरेको न्याय सम्पादनको अवस्थाका बारेमा अनुगमन् गर्ने भएको छ ।