सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा र थ्री स्टार क्लव विजयी - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा र थ्री स्टार क्लव विजयी

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १–० गोल अन्तरले पराजित गरेको हो । साविकको विजेता समेत रहेको मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा निशानले गोल गरेका थिए ।

जितसँगै मनाङले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने पक्का भएको छ । मनाङले १३ खेलमा २८ अंक जोडेको छ । र, दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी समेत गरेको छ । मनाङको दोस्रो हुने सम्भावना भने गणितीय मात्र रहेको छ । अन्तिम खेलमा मछिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहने छ । जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

अर्को खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको आफ्नो अन्तिम खेलमा शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले हराएको हो । खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनाएको थियो । राजेशले डिबक्सको नजिकैबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । उसका विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्रबाट तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफको ईन्जुरी समयमा शेर्पाले गोल गर्दै अग्रता बनाउन सफल रह्यो । त्रिदेव गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै शेर्पालाई अग्रता दिलाए ।
दोस्रो हाफमा थप गोल नभएपछि शेर्पा विजयी बनेको हो । शेर्पा क्लब १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लियो । एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत रह्यो ।

अर्को खेलमा ललितपुरे क्लब थ्री स्टार क्लबले अन्तिम खेलमा जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । ललितपुर डर्बीमा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो ।

खेलको ७० औं मिनेटमा लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले निशान खड्काको फ्रिकिक बललाई हेडबाट पोस्टको दिशा देखाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । च्यासलका डिफेन्डर छिरिङ गुरुङले डिबक्स भित्र लाल राम्मव्रालाई लडाएपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले थ्री स्टारलाई पेनाल्टी दिएका थिए । जसमा अनन्त चुकेनन् ।

जितसँगै थ्री स्टारले लिगमा सुखद अन्त्य गरेको छ र लिगको चौथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ । च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ । च्यासलले १३ खेलमा १५ अंक जोडेको छ । च्यासल आठौं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes