सवारी लाइसेन्स लिन अब १८ वर्ष पुग्नुपर्ने - Pahilo Online

सवारी लाइसेन्स लिन अब १८ वर्ष पुग्नुपर्ने

writer

काठमाण्डौ । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । अहिले पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । यो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ ।

उनले भने, ‘मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।’ चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताए ।

टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानुनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ ।

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन नबने पनि प्रदेशहरुले ऐन बनाइरहेका छन् । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशले सङ्घीय ऐनभन्दा पहिले नै नयाँ संविधानुसार ऐन बनाइसकेका छन् । वाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes