संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका कोरोना भाइरस फैलन नदिन १७ दिनदेखि बन्द भएको छ। कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको छ। चीनले किमाथांका नाका बन्द गरेपछि रोजगारीका लागि चाँगा पुगेका १४ मजदुर उतै रोकिएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताएका छन्। चीनियाँ भूमीमै रोकिएकामध्ये १२ जना संखुवासभा र २ जना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको उनले जानकारी दिए।
सदरमुकामबाट ५ दिनको पैदलमा रहेको भोटखालाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्। किमाथांका गाउँ र चीनको चाँगा बजार बिचमा रहेको कामु खोला पुलमा रहेको गेटमा चीनियाँ सुरक्षाकर्मी ताला लगाएर बसेका छन्। नाका बन्द हुँदा सीमापारी नै थुनिएका १४ जनालाई नेपाल फर्काउन पहल भइरहेको र यसका लागि आवश्यक प्रबन्ध मिलाउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको अध्यक्ष भोटेले बताए। उनले भने,’हामीले माथिल्लो निकायलाई समेत जानकारी गराएको छौं, चाँडै नै उनीहरुलाई नेपालतर्फ फर्काइनेछ।’ भोटखोला गाउँपालिकाको सीमा चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रन सक्ने स्थानीयबासीको चिन्ता छ। चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भोटखोला गाउँपालिकाले स्थानीय नागरिकलाई सचेत रहन आग्रह गरेको छ।