शनिश्चरे । मोरङ पथरीशनिश्चरे ४ स्थित माताचोकदेखि उत्तरको सडक स्तरोन्नती कार्यको आज सोमबार शिलान्यास गरिएको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारी र संविधान सभासद लालबहादुर सुस्लिङ मगरले संयुक्त रुपमा उक्त सडकको शिलान्यास गरेका हुन् ।
उक्त सडक स्तरोन्नतीका लागि पथरीशनिश्चरे नगरपालिकाले वडा नं. ४ को सिफारिसमा आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट २ लाख रुपैयाँ विनियोजन गरेको सभासद सुस्लिङले जानकारी दिए । सुस्लिङका अनुसार उक्त सडक माताचोकदेखि उत्तर ५ सय मिटर र ३२ फुट चौडा स्तरोन्नती गरी कुशलबजारबाट पश्चिम जाने बाटोमा लगेर जोडिने छ ।
यसैगरी, आज सोमबार नै वडा नं. ४ को राई डाँडाको खोल्सीमा कल्भर्टको शिलान्यास भएको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारी र वडा सदस्य खड्ग सुस्लिङले उक्त कल्भर्टको शिलान्यास गरेका हुन् ।
उक्त कल्भर्ट निर्माणका लागि वडा कार्यालयबाट आर्थिक वर्ष २०७६÷०७७ मा ४ लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । उक्त स्थानमा कल्भर्ट निर्माणपछि वर्षौंदेखि कष्टपूर्ण जीवनयापन गरिरहेका स्थानीयले सहजरुपमा आवतजावत गर्ने वडा सदस्य खड्ग सुस्लिङले बताए ।