पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज नगरमा सम्पन्न ३ वटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्वर १ र ६ का योजनाको अनुगमन् गरेको हो ।
वडा नम्वर १ को जोरधारा सडकको १ सय ४३ मिटर सडक ग्राभेल, त्यहाँ ड्रेन, ढुंगाको गारो, वाल र एउटा ह्यूमपाइप सहित ८ लाखको वडाको योजनाको अनुगमन् भएको छ । त्यसैगरी, वडा नम्वर ६ को राधाजी मन्दिरदेखि डाँस वक्राहा नमूना सडकमार्गको केही रुखहरु समेत हटाएर ६ सय ३० मिटर नाला खन्ने र ३ सय १० मिटर लम्वाई ग्राभेल गर्ने कार्यको अनुगमन् भएको छ । जसका लागि २ लाख रुपैयाँ बजेट छ्ट्याइएको थियो ।
टोलीले वडा नम्वर ६ कै पशु स्वास्थ्य केन्द्रका लागि २ लाखको बजेटमा ५ वटा सिलिङ पंखा, जिप्सन, ग्रीलको झ्याल, स्लाइडिङ झ्याल र कोठा रंगरोगन गरिएको योजनाको पनि अनुगमन् गरेको छ । साथै त्यहाँ औषधिहरुको अवस्थाका बारेमा समेत जानकारी लिइएको समिति संयोजक वास्तोलाले जनाउनु भयो ।