पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ७ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ । नगरपालिका कार्यालयको संयोजनमा राष्ट्रिय सामुदायिक विकास केन्द्रले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजित तालिमको आज नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरेका छन् । उनले महिलाहरु उद्यमी भएर अघि बढ्न आव्हान गर्दै उद्यमशीलताको लागि नगरपालिकाले सधैं साथ सहयोग गरिरहने वताइन् । वडाध्यक्ष कपिलमणि ढकालले पनि वडामा उद्यमशीलता विकासका लागि आफुहरु लागि रहेको वताए।
८ दिने तालिममा ४, ६, ७ सहितका वडाका ५० जनाको सहभागिता रहेको छ । सुलोचना तामाङ र अरुणा राईले तालिमको सहजिकरण गरिरहेका छन् । यसैबीच, देशमै उत्कृष्ठ नगरको हरियाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको बाँसबाट निर्माण गरिने हस्तकलाका सामग्री र वायरिङ सम्वन्धी तालिमको आज उद्घाटन् गर्दै नगर उपप्रमुख वास्तोलाले नगरमा उद्यमशीलताको विकास हुँदै गएकोमा खुसी व्यक्त गरिन्।
समूहले गरिवी निवारण कार्यक्रम अन्तर्गत विपन्न वर्गको जिविकोपार्जनका लागि आफ्ना सदस्यका लागि २ महिने तालिमको आयोजना गरेको अध्यक्ष काबुलबहादुर मगर विकासले बताए । हस्तकलाका लागि पूर्णकुमार राई र मन्दिप विश्वकर्मा तथा वायरिङका लागि नारायण अधिकारीले सहजिकरण गर्ने छन्।