इलाम । २०१७ सालमा इलामका तत्कालीन बडाहाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको सडक विभिन्न कारणबाट ओझेलमा परेको थियो। त्यसै समदेखी सवारी साधन चल्न थालेको इलाम र झापा जोड्ने दानाबारी (सुखानी) (राजदुवाली (इलाम) सडकखण्ड प्रदेश सरकारको पहलमा सडक कालोपत्रे हुने भएको हो। सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित भएका छन्। स्थानीय व्यवसायी सावित्रा ढकाल सडक कालोपत्रे भएपछि माई नगरपालिका अन्तर्गतको दानाबारी क्षेत्रले विकासमा फड्को मार्ने बताइन्।
उनले भनिन्, ‘यत्रो वर्ष हिलोमैलोमा गाडी ठेल्दै व्यापार गर्न हिँडियो, अब केही राहत होला कि?’ सडक कालोपत्रे गर्न हिम्डुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले ४५ करोड ४७ लाख १५ हजार ८१९ रुपैयाँ ६० पैसामा ठेक्का पाएको छ। सम्झौताअनुसार २०७९ असार मसान्तसम्म कालोपत्रे गरिसक्नुपर्ने छ। सात मिटर चौडा रहने कालोपत्रे पहिलो चरणमा सुखानीदेखि लोदिया बगैंचासेरोसम्म १४ दशमलव ७ किलोमिटर सम्पन्न गरिने भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ का सचिव राजेश घिमिरेले जानकारी दिए।