मोरङ । समुदाय सँग आधारित कार्यक्रम सञ्चालन गरेर नागरिकको मन जित्न सफल ईलाका प्रहरी कार्यालय बेलबारी राजश्व संकलनमा समेत अब्बल देखिएको छ । ईप्रका बेलबारी पाँच महिनाको अबधिमा १ करोड ६५ हजार भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । यो पाँच वर्ष यताकै बढी राजश्व संकलन हो । सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा आयोजित प्रहरी समुदाय सँग अन्तर्गत एक कार्यक्रम गरी बेलबारी प्रहरीले सो तथ्यांक सार्वजनिक गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक गुणराज बुढाथोकीले कार्यक्रममा प्रहरीले अहिले गर्दै आइरहेको गतिविधी साथै यो क्षेत्रमा भईरहेको शान्ति सुरक्षाको स्थितिका बारेमा जानकारी समेत गराएका थिए । बेलबारी, सुन्दरहरैचा, ग्रामथान र केराबारीका जनतालाई सुरक्षा दिन प्रहरी सक्षम रहेको बताउदै उनले प्रहरी जनताको सुरक्षाको लागि २४ घण्टा खटिरहेको बताए । पछिल्लो समय मोबाइल र मोटरसाईकल चोरीको घटना बढ्दै गएका कारण जिल्ला प्रहरी कार्यालय मोरङले अप्रेशन ट्र्याप अभियान सञ्चालन गरि मोबाइल र मोटरसाइकल चोरी गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको बताए ।