इटहरी । नेपालमै पहिलो पटक स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ। इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ। इटहरी वडा नम्बर ४ ट्याङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउस्थित दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्ने भएको हो। त्यहाँ एक सयवटा हल्का सवारी साधन पार्क गर्न सकिने छ।
इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ। करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ। सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाउँमा पठाउने छ। पछि १ मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ। यो पार्किङको प्रणाली सबै स्वचालित हुने छ। त्यहाँ गाडी धुने स्मार्ट वास र कफी सपको पनि ब्यवस्था हुने छ । त्यहाँ पार्क गरिसकेपछि सम्बन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए।