पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्र बन्ने भएपछि स्थानीय हर्षित - Pahilo Online

पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्र बन्ने भएपछि स्थानीय हर्षित

writer

मोहन भट्टराई

भवन निर्माण स्थलको निरीक्षण गर्दै नगरपालिकाको प्राविधिक टोली, वडाध्यक्ष र स्थानीय ।

शनिश्चरे । वर्षौंदेखि स्वास्थ्य उपचारको सुविधा नपाएका पथरीशनिश्चरे–४ शिरिशे डाँडाका वासिन्दाले अब आफ्नै गाउँमा आधारभुत स्वास्थ्य सेवा पाउने भएका छन् । संघीय सरकारबाट भवन निर्माणका लागि रकम विनियोजित भएपछि वडावासी हर्षित भएका छन् ।

‘सामान्य ज्वरो आउँदा एउटा सिटमोल खान पनि आधी घण्टाको दुरी पार गरेर कि त शनिश्चरे नभए पथरी नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुन्छ भन्ने हाम्रो विश्वास छ’– स्थानीय युवा राजकुमार विश्वकर्माले भने । गाउँमै आधारभुत स्वास्थ्य केन्द्र बन्न लागेको खबरले आफुलाई खुशी लागेको उनले बताए ।

स्थानीय समाजसेवी ध्रुबकुमार बराइलीले स्वास्थ्य मन्त्री पनि आफ्नै क्षेत्र भएकोले गाउँका नागरिकले स्वास्थ्य उपचारको अभावमा अकालमै ज्यान गुमाउनु नपर्ने बताए । ‘अब चाहीं सरकारले जनताका लागि काम गर्दै छ भन्ने अनुभुति भएको छ’– बराइलीले भने ।

संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि ३८ लाख रुपैयाँ प्राप्त भएको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए । वडाध्यक्ष भण्डारीका अनुसार आधारभुत स्वास्थ्य केन्द्र वडा नं. ४ को शिरिशे डाँडास्थित सरस्वती आधारभुत विद्यालयदेखि पश्चिम चौधरीटोलमा निर्माण हुने छ । ‘वडाको विकट बस्ती चौधरी टोलमा अढाई कठा जग्गा प्राप्त भएको छ’– वडाध्यक्ष भण्डारीले भने ‘सोही स्थानमा स्वास्थ्य केन्द्र बन्ने छ ।’

स्वास्थ्य केन्द्र निर्माणका लागि पायक पर्ने स्थानमा जग्गा दाताहरुका लागि वडाले सूचना जारी गरेको थियो । ‘सूचनाका आधारमा विभिन्न स्थानमा जग्गा दाताहरुले इच्छा जाहेर गरेका थिए’– वडाध्यक्ष भण्डारीले भने ‘वडाको दक्षिणका वासिन्दाका लागि वडा नं. ६ को स्वास्थ्य केन्द्र, पूर्वका वासिन्दाका लागि वडा नं. ७ र उत्तरका वासिन्दाका लागि वडा नं. ९ को स्वास्थ्य केन्द्र पायक पर्ने भएकोले शिरिशे डाँडा आसपासका वासिन्दाको सुविधालाई ध्यानमा राखेर वडाले चौधरी टोलमा बनाउने निर्णय गरेको हो ।’

स्थानिय वत्सलराज अधिकारीले दान गरेको अढाई कठा जग्गाको नगरका प्राविधिक टोलीले नापजाँच गरी उपयुक्त ठहर गरिसकेको छ । प्राविधिक स्टिमेट सकिएपछि चाँडै ठेक्का प्रकृयाबाट निर्माण प्रारम्भ हुने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes