प्रदेश १ सरकारले पर्यटन पूर्वाधारका लागि छुट्याएको बजेट उपयोगमा ध्यान दिएन - Pahilo Online

प्रदेश १ सरकारले पर्यटन पूर्वाधारका लागि छुट्याएको बजेट उपयोगमा ध्यान दिएन

उद्घाटनमा मात्रै २५ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने

writer

मोरङ । पर्यटन पूर्वाधारका लागि डेढ अर्ब रुपैयाँ छुट्याएको प्रदेश १ सरकारले बजेट उपयोगमा ध्यान दिएको छैन । ठूलो बजेट ठोस काममा उपयोग गर्नुको साटो उसले पर्यटन वर्ष उद्घाटनमा मात्रै २५ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राईले चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधारका लागि १ अर्ब ५१ करोड बजेट विनियोजन भए पनि हालसम्म कार्यान्वयन हुन नसकेको स्वीकारे । ‘प्रदेश सरकारले पर्यटन विकास आयोजना गठन गरेको छ,’ उनले भने, ‘आयोजनाले करारमा प्राविधिक नियुक्ति गरेर पर्यटन पूर्वाधारसम्बन्धी योजनाहरूको डिजाइन र इस्टिमेट सुरु गरेको छ ।’ उनले १ करोड रुपैयाँसम्मको योजना उपभोक्ता समिति र बाँकी टेन्डरबाट अघि बढाउने निर्णयअनुसार काम भइरहेको बताए । उक्त मन्त्रालयलाई ट्राभल तथा ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा व्यवसाय, साधारण पर्यटकस्तरीय होटेल, टुर गाइड, ट्रेकिङ गाइडको दर्ता, नवीकरण र खारेजीको अधिकार भए पनि हालसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैतले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा विराटनगरस्थित सहिद रंगशालामा जनवरी १ तारेखको दिन हुने जानकारी दिए । उनले उद्घाटनमा २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने समेत जनाए । तर यसको उपलब्धिबारे उनले अनभिज्ञता प्रकट गरे । ‘५ लाख भारतीय पर्यटक आउने अनुमान छ । भन्सारमा गाडीको अस्थायी रुट परमिट, होटलबास र हवाई यात्रा गरे त्यसबाट प्रदेशलाई आम्दानी हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री शेरधन राईको संरक्षकत्वमा गठन भएको प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिले कार्य योजना बनाएर काम अघि बढाउने मन्त्री कुसियैतको भनाइ थियो । ‘पर्यटन प्रवर्द्धनका लागि अहिले नै ठोस योजना बनिसकेको छैन,’ उनले भने, ‘पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माण र छिमेकी राष्ट्र भारतको विहार, पश्चिम बंगाल र सिक्किममा प्रचारप्रसारका लागि योजना बनाउँदै छौं ।’

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेका सय नयाँ गन्तव्यमा प्रदेश १ का २८ स्थान सूचीकृत भएका छन् । स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्य र नयाँ तथा विकास गरिनुपर्ने गरी सरकारले समेटेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes