मोरङ । लेटाङ नगरपालिका वडा नं. १ को राजारानी ताल नजिकको चुरे डाँडामा करीब २५ करोडको लागतमा अन्तर धार्मिक पार्क निर्माण हुने भएको छ । पर्यटन क्षेत्रको विकासको उद्देश्यले धार्मिक विविधता झल्कने गरी प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीहार) तयार भइसकेको छ । पार्कमा हिन्दू, बौद्ध, इस्लाम, किरात, वाहाइ, प्रकृति, क्रिश्चियन, जैन र बोन धर्म गरी नौ ओटा धर्मका द्वारसहितका मठ मन्दिर निर्माण गरिने छन् । ती मठ मन्दिरको दृश्यावलोकन गर्दै दर्शनार्थीहरू सबैभन्दा माथि रहेको गुम्बा आकारको हलमा पुग्ने बताइएको छ ।
यो पार्क प्रदेश सरकारले व्यावसायिक दृष्टिले निर्माण गर्न लागेको हो । पार्कको क्षेत्रफल १२ कठ्ठा रहने लेटाङ नपा, वडा नं. १ का अध्यक्ष विष्णुकुमार मगरले बताए । राजारानी क्षेत्र धिमाल जातिको उद्गमस्थल मानिन्छ । ट्रियु विल्ट इन्जिनीयरिङ कन्सल्टेन्सीले पार्कको डिजाइन र डीपीआर तयार गरेको हो ।
पार्कको डीपीआर प्रदेश नं. १ को विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा मन्त्री, सचिव, प्रदेश सभा सदस्य लगायतका सरोकारवालाहरूबीच प्रस्तुत गरिएको थियो । सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्रोत जुटाएर धार्मिक पार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । कानेपोखरीबाट १३ किलोमीटर र बेलवारीबाट १९ किलोमीटर यात्रा गरेपछि उक्त धार्मिक पार्क पुगिनेछ । पार्क निर्माणका लागि २ करोड ३६ लाख लाग्ने अनुमान गरिएको छ । सबै धार्मिक समूहका कला र सामग्रीसमेतको व्यवस्थापन गर्दा करीब २५ करोड खर्च हुने बताइएको छ ।