
प्रदेश सरकारले जनवरी १ तारिखमा पर्यटन बर्षको भब्य शुभारम्भ गर्न लागेसँगै त्यसलाई ब्यापकता दिन छलफललाई तिब्र बनाएको हो । त्यसको लागि उप समितिहरुले समेत गतिबिधि बढाएका छन् । बुधवार भएको छलफलमा खेलकुद समिति अन्तरगतका सबै खेलकुद संघ कराँते संघ, ब्याडमिन्टन संघ, भलिवल संघ, फुटवल संघ लगायतका दर्जन बढी संघलाई आ–आफ्नो पोसाकमा आउन भनिएको छ ।
जनवरी १ तारिखका दिन हुने कार्यक्रमको लागि प्याराफिट ब्यवस्थापनको अनुगमन गर्ने, प्याराफिटको बसाई, ब्यवस्थापन, अनुशासनका लागि सबै प्याराफिटमा एउटा एउटा संघले अनुगमन गर्ने समेत खेलकुद समितिहरुसँगको छलफलमा निर्णय भएको छ । त्यस्तै मार्चपास गर्नका लागि पनि खेलकुद समितिहरु आफ्नो पहिचानका साथ सहभागी हुनेछन् । त्यस्तै प्रदेश सरकारले ३० तारिख बिहान साईकल र्याली निकाल्ने र साँझ मोटरसाईकल र्याली समेत निकालेर १ तारिखमा हुने कार्यक्रमलाई भब्य बनाउनको लागि प्रचार गर्ने समेत निर्णय भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले जानकारी दिए।
मन्त्री कुसियैतको अग्रसरतामा कार्यक्रमलाई भब्य बनाउनको लागि हरेक दिन समितीहरुलाई निर्देशन दिने रिपोर्टिङ लिने काम समेत हुँदै आएको छ । मन्त्रीको उपस्थितीमा पुस १ गतेदेखि नै हरेक दिन सबै क्षेत्रका ब्यक्तिहरुसँग छलफल हुँदै आएको हो ।
बुधवार नै मन्त्रालयमा बिराटनगरका साना होटल ब्यवसायी तथा ट्राभल्स एजेन्सीका ब्यवसायीहरुसँग छलफल भएको छ । उनीहरुसँग पनि सबैको चासो रहेको भ्रमण बर्ष २०२०लाई सफल बनाउनको लागि आग्रह गरिएको छ । ब्यवसायीलाई आफ्नो ब्यानरमा बिराटनगरको सहिद मैदानमा आयोजना हुने उद्घाटन कार्यक्रमलाई सफलल बनाउन आग्रह गरिएको मन्त्री कुसियैतले जानकारी दिएका छन्।



