‘सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अभिभावको निरन्तर साथ चाहिन्छ’ - Pahilo Online

‘सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अभिभावको निरन्तर साथ चाहिन्छ’

writer

रामकुमारी राई

नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु ।

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–४ स्थित सरस्वती आधारभुत विद्यालयको अभिभावक भेलाले व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ । बुधबार विद्यालय परिसरमा अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नयाँ कार्य समिति गठन गरेको हो ।

उप–सचिव शालिग्राम काफ्लेको अध्यक्षता र वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा दलित महिला सदस्यबाट चञ्चला पासवान, राजेन्द्रप्रसाद भट्टराई, धनश्याम चौधरी, श्रीमती टिका वनेम, सदस्य सचिवमा प्रधानाध्यापक रामप्रसाद न्यौपाने चयन भएका छन् ।

समितिले चयन हुन बाँकी चार सदस्यमध्ये वडा र शिक्षक प्रतिनिधि एक एक जना र वडाका शिक्षाप्रेमी, बुद्धिजीवी, दानवीरबाट दुई सदस्य पछि मनोनित गर्ने भएकोे छ ।
त्यस्तै उर्मिला माझीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष भण्डारीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सवै अभिभावकले चासो दिनु पर्ने बताए । उनले सवै अभिभावको निरन्तर साथ रहने हो भने गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयले नै उपलब्ध गराउने बताएका थिए ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्य खड्ग सुस्लिङ मगर लगायतले शैक्षिक सुधारको विषयमा बोलेका थिए ।
ऐनको आठौं संशोधनमा विद्यालय व्यवस्थापन समिति गठन गर्न तीन चरण पार गर्नुपर्ने प्रावधान राखिएको उप–सचिव शालिग्राम काफ्लेले जानकारी दिए । पहिलो चरणमा अभिभावकमध्येबाट दुई महिला सहित चारजना छनौट गर्नुपर्ने प्रावधान रहेको उप–सचिव काफ्लेले बताए । समितिमा विद्यालयका प्रधानाध्यापक स्वतः सदस्य सचिव र शिक्षकहरुको भेलाबाट छानिएका एक जना शिक्षक प्रतिनिधि रहने व्यवस्था छ ।
दोस्रो चरणमा हलबाट छनौट भएका चारजना सदस्य, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि समेत जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी विद्यालय व्यवस्थापन ससमिति सदस्यका लागि संस्थापक, शिक्षाप्रेमी, समाजसेवी र चन्दादातामध्येबाट एक महिला हुनेगरी दुईजना छनौट गर्नुपर्ने व्यवस्था गरिएको छ । तेस्रो चरणमा हलबाट छनौट भएका चारजना, विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र बैठकबाट छानिएका दुई समेतको बैठकले अध्यक्ष छान्ने व्यवस्था गरिएको काफ्लेको भनाई छ ।

उनका अनुसार प्रधानाध्यापक र शिक्षक प्रतिनिधिबाहेक छानिएका ६ जनामध्येबाट बहुमतको आधारमा एक जनालाई अध्यक्ष चुन्नुपर्ने व्यवस्था रहेको छ । यसैगरी अभिभावक भेलाबाट नै शिक्षक अभिभावक संघ छनौट गर्नुपर्ने ऐनमा व्यवस्था छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes