पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गरेका हुन्।
आइतबार राति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरे । त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा १७९ मत बदर भएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए । गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।
विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा पिता नरबहादुर र आमा दिलमाया कुरुम्बाको जेठो छोराका रुपमा वीरबहादुरको जन्म भएको थियो । कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । विसं २०५२ मा तत्कालीन नेकपा (एमाले)बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वा्चित भएका थिए।