
निर्वाचन अवधिभर मतदान स्थलमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ। पहिलो सुरक्षा घेरामा प्रहरी रहनेछन् भने मतदान केन्द्र बाहिर सशस्त्र प्रहरीको सुरक्षा घेरा हुनेछ। सहायक निर्वाचन अधिकृत निधिराम दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १० जना प्रहरी हुनेछन्। तीमध्ये दुईजना हतियारधारी प्रहरी हुनेछन्। मतदान केन्द्रको सुरक्षाका लागि जम्मा ७५० प्रहरी खटिएका छन्। मतदान केन्द्रबाहिर सुरक्षाका लागि सशस्त्र प्रहरीको घेरा हुनेछ। धरानको उपनिर्वाचनमा ५०० जना सशस्त्र प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।
कार्यालयको अनुसार तेस्रो घेरामा नेपाली सेनाको मोबाइल टोलीले पनि निरन्तर गस्ती तथा पेट्रोलिङ गर्ने छ । आवश्यक परेको स्थानमा सशस्त्र प्रहरी दुई र सेनाको टोली पाँच मिनेटभित्र पुग्ने कार्यालले जनाएको हो। मतगणना स्थलको सुरक्षा तथा मतगणना पारदर्शी बनाउन सिसिटिभीको व्यवस्था गरिने छ। मतगणना धरान–१५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने जनाइएको छ।
उप्रेतीका अनुसार मतपेटिका सुरक्षित रहने कोठामा एउटा सिसिटिभीजडान गरिएको छ। यस्तै, मतगणनास्थलमा दुई वटा सिसिटिभि जडान गरेर निगरानी गरिनेछ। यस्तै, भवन परिसरको गतिविधि निगरानी गर्न एउटा सिसिटिभीबाहिर हुने छ भने मतगणनास्थलमा गणक कर्मचारी र उम्मेदवारको प्रतिनिधिबीचमा तारजाली पनि राखिने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताएका छन्।