
केराबारी (मोरङ) । स्थानीय पर्यटन प्रवर्धन र युवाहरुलाई व्यवसायमा आकर्षण गर्ने उदेश्यले मोरङको केराबारीमा ‘केराबारी फुड एण्ड म्युजिकल फेष्टिबल फेयर—२०७६’ हुने भएको छ ।
होटल तथा पेय पदार्थ व्यवासायी संघ, केराबारीको आयोजनामा मंसिर १६ देखि २४ गतेसम्म फेस्टिवल हुने आयोजक समितिले आज ९बिहिबार० पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् ।
केराबारी पूर्व पश्चिम मुख्य सडकसँग जोडिएको खोर्साने बजारदेखि करिव १४ किलोमिटर उत्तरमा पर्दछ । केराबारीको मच्छिन्द्र चौक स्थित सडकमा हुने फेस्टिबलकै अवसरमा भोगटेनी डाँडाबाट दैनिक प्यारा ग्लाइडिङ्ग उडान, साइक्लिनिङ, हाइकिङ्ग हुने आयोजक समितिका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।
फेस्टिबलको माध्यमबाट केराबारीमा रहेको दर्जन बढी धार्मिक तथा सांस्कृतिक क्षेत्र, आकर्षक पहाड र गुफाहरुको प्रचार, केराबारीलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाइने बताइएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित केराबारी गाउँपालिका प्रमुख रोहितबहादुर कार्कीले केराबारी मोरङको उच्च पहाडी क्षेत्रमा पर्ने र पर्यटनको सम्भावनाको प्रचारको लागि फेस्टिबल हुन लागेकोले पालिकाको सहयोग रहने बताए ।
प्रचार गर्न सके केराबारीमा मासिक १० हजार आन्तरिक पर्यटक भित्र्याउन सकिने अवस्था रहेको आयोजक होटल तथा पेय पदार्थ व्यवासायी संघ, केराबारीको सचिव सञ्जय तामाङले बताए ।
फेस्टिबलभरी दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रमको साथै मगरको हुर्रा, लिम्बुको च्याब्रुङ, राईको साकेला लगायतको नृत्य प्रर्दशन तथा खानाको परिकार रहने उपाध्यक्ष देविमुरी मगरले बताए । ५० वटा स्टल रहने फेस्टिबलको लागि करिव साढे १८ लाख खर्चहुने अनुमानित बजेटसमेत प्रस्तुत भएको थियो ।